काठमाडौं । संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’ सम्बन्धी भएको सहमति सदनमा प्रस्तुत र पारित हुँदा फरक पारिएको भन्दै नेकपा माओवादीले आपत्ति जनाएको छ ।
बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले राज्य व्यवस्था तथा सुशासन समितिमा भएको सहमतिभन्दा फरक गरेर विधेयक सदनमा कसरी पुग्यो भन्ने प्रश्न गर्दै यस जालसाजीपूर्ण घटनाले सिंगो संसद, संसदीय समिति र सांसदहरूको इमान, निष्ठा र योग्यतामाथि पनि प्रश्न उठेको बताएका छन् ।
उनले भने, ‘प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’ सम्बन्धी जे सहमति भएको थियो, सदनमा प्रस्तुत र पारित हुँदा भने फरक पारिएको छ । सहमतिभन्दा फरक गरेर विधेयक सदनमा कसरी पुर्याइयो ? परस्पर विरोधी प्रावधान कसले थप्यो ? यस्ता अनेकन गम्भीर प्रश्नहरु उठेका छन् । यस जालसाजीपूर्ण घटनाले सिंगो संसद, संसदीय समिति र सांसदहरूको इमान, निष्ठा र योग्यतामाथि पनि प्रश्न उठेको छ ।’
यस्तै, उनले संसदमाथिको धोका, मानमर्दन र अपमान भएको यस घटनाले संविधानको मर्म र भावनामा गम्भीर चोट पुगेको पनि बताए ।
माओवादीले यो एकाध व्यक्तिले मात्र गरेको दुस्साहस होइन, सुनियोजित तरिकाले गरिएको धृष्टता हो यसको जिम्मा नैतिक रुपमा संसदको नेतृत्व समेतले लिनुपर्ने भन्दै उनले यस प्रकारको गम्भीर प्रकृतिको संसदीय अपराधको यथाशक्य छिटो छानविन गरी सत्य तथ्य सार्वजनिक गर्नुका साथै दोषीमाथि कारबाहीको माग पनि गरेका छन् ।
नेपाल शिक्षक महासंघसँग संसदबाट असार १५ भित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने सहमति भए तापनि हालसम्म पारित नहुनु दुःखद कुरा भएको भन्दै शिक्षा विधेयक यथाशीघ्र पारित गरि शिक्षकहरुलाई पुनः आन्दोलनमा फर्कने वातावरण नबनाउन पनि सापकोटाले आग्रह गरेको छ ।





























प्रतिक्रिया