काठमाडौं । घुससम्बन्धी अडियो सार्वजनिक भएसँगै विवादमा तानिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार बोलाएका छन् ।
बालुवाटार स्रोतका अनुसार, मन्त्री गुप्ता केहीबेरअघि नै प्रधानमन्त्री निवास पुगेका छन् र यो बैठकमा उनले आफ्नो स्पष्टीकरण दिने अपेक्षा गरिएको छ। स्रोतले यो पनि संकेत गरेको छ कि गुप्ताले आजै राजीनामा दिन सक्छन्।
प्रधानमन्त्री ओलीमाथि यो प्रकरणमा कडा कदम चाल्न दबाब बढिरहेको छ। विगतमा ओलीले आफ्नो कार्यकालमा विवादमा परेका मन्त्रीहरूलाई बर्खास्त गरेको उदाहरण छ। सन् २०१८ मा घूस बार्गेनिङ र सार्वजनिक कार्यक्रममा विवादास्पद अभिव्यक्ति दिएपछि दुई मन्त्रीलाई हटाइएको थियो।
अर्कोतर्फ मन्त्री राजकुमार गुप्ताले आफूमाथि लागेका आरोपहरूको खण्डन गर्दै यो षड्यन्त्र भएको दाबी गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत ५ बुँदे स्पष्टीकरण जारी गर्दै अडियोको सत्यता जाँच्न र छानबिन गर्न माग गरेका छन्। उनले भने, “प्रधानमन्त्रीज्यूलाई मैले यो विषयमा पहिल्यै जानकारी गराएको थिएँ। यदि पार्टीले निर्देशन दिएमा म राजीनामा दिन तयार छु।”
गुप्ताले यो अडियो आफ्नो राजनीतिक करियर सिध्याउन रचेको षड्यन्त्र भएको दाबी गरेका छन्। यद्यपि, उनले शुरूमा मिडियालाई “आज नछाप्नूस्, भोलि भेटेर कुरा गरौं” भनेको कुराले थप शंका उत्पन्न गरेको छ।
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओली यो प्रकरणमा निकै संवेदनशील अवस्थामा रहेका छन् । उनले आफ्नो कार्यकालमा सुशासन र भ्रष्टाचारविरुद्ध कडा नीति अपनाउने प्रतिबद्धता व्यक्त गर्दै आएका छन्। यही कारण उनले गठन गरेको सुशासन आयोगको विश्वसनीयतामाथि पनि यो प्रकरणले प्रश्न उठाएको छ।
ओलीले विगतमा आफ्ना मन्त्रीहरूलाई विवादमा परेपछि बर्खास्त गरेको इतिहास छ, तर गुप्ता उनकै दलका नेता भएकोले यो निर्णय उनको लागि जटिल हुन सक्छ। यदि उनले गुप्तालाई बर्खास्त गरेनन् भने विपक्षी दलहरूले सरकारको नैतिक आधारमाथि थप प्रश्न उठाउने सम्भावना छ।































प्रतिक्रिया