स्पेन पठाउने गिरोहमाथि छानबिन थालिँदै, सीआईबी र मानव बेचबिखन अनुसन्धान ब्यूरोलाई जिम्मा

स्पेन पठाउने गिरोहमाथि छानबिन थालिँदै, सीआईबी र मानव बेचबिखन अनुसन्धान ब्यूरोलाई जिम्मा

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको स्पेनको कार्यक्रममा पठाउने गिरोहमाथि अनुसन्धान गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन्।

मन्त्री लेखकले सोमबार बिहान गृहसचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई गिरोहका बारेमा अनुसन्धान गर्न निर्देशन दिएका हुन्। स्पेन भ्रमणमा सरकारी प्रतिनिधि मण्डलबाहेकको टोली गएको विषय के हो ?, अरूहरू कुन संस्थामार्फत कसरी गए ? भिसालगायतका प्रक्रिया तथा प्रबन्ध कसले गर्‍यो ? कसको समन्वयमा गए ? भन्ने विषयमा छानबिन गर्न गृहमन्त्री लेखकले निर्देशन दिएका हुन्।

गृहमन्त्री लेखकले स्पेन पठाउने गिरोहमाथि छानबिन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र मानव बेचबिखन अनुसन्धान ब्युरोलाई दिएका छन् । गृहमन्त्रीको सचिवालयले दोषी देखिएका व्यक्तिहरूमाथि कडा कारबाही गरिने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको म्याड्रिडमा असार १६ गतेदेखि १९ गतेसम्म आयोजित संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ (एफडीडी–४) मा सहभागिता जनाउन २१ जनाको सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए । यो भ्रमण नेपाल र स्पेनबीचको कूटनीतिक सम्बन्धको ५५औँ वार्षिकोत्सवको सन्दर्भमा पनि महत्वपूर्ण थियो।

तर, भ्रमणपछि रास्वपाकी सांसद सोविता गौतमले असार २४ गते प्रतिनिधिसभाको बैठकमा गम्भीर आरोप लगाउँदै प्रधानमन्त्री सहभागी भएको कार्यक्रममा भिजिट भिसाको दुरुपयोग गरी सयौँ नेपालीहरू स्पेन गएको र तीमध्ये केही नफर्किएको दाबी गरिन् । रास्वपा सांसद गौतमले फेक डकुमेन्ट बनाएर भिसा प्रक्रिया मिलाइएको र मानव तस्करीको सञ्जालले यस्ता गतिविधिहरूलाई प्रोत्साहन गरेको आरोप लगाइन् । उनले ५५ जनाको सूची र सम्बन्धित कागजात मिडियामार्फत सार्वजनिक गरेकी थिईन्, जसमा दिल्लीस्थित स्पेनिस दूतावासले अन्तिम समयमा केही भिसा रद्द गरेको र विमान कम्पनीहरूलाई अलर्ट म्यासेज प्राप्त भएको उल्लेख छ ।

सोविता गौतमको अभिव्यक्तिपछि संसदमा तीव्र बहस चल्यो । उनले मंगलबारको प्रतिनिधिसभा बैठकमा भनेकी थिइन्, “प्रधानमन्त्रीज्यूको आधिकारिक प्रतिनिधिमण्डल सबै फर्कियो, तर यो पनि सत्य हो कि उक्त कार्यक्रममा सयौँ नेपालीहरू सहभागी हुन गए र केही नफर्किए । फेक डकुमेन्ट बनाएर भिसा लगाइएको पनि सत्य हो ।” उनले मिडियामा आएको एउटा अडियोको आधारमा यो प्रकरणमा रकमको मोलमोलाई भएको समेत दाबी गरिन् ।

गौतमको यो भनाइलाई लिएर नेकपा (एमाले) का सांसदहरूले कडा आपत्ति जनाए । सांसद दामोदर पौडेल ‘बैरागी’ले गौतमलाई आरोप पुष्टि गर्न चुनौती दिए भने सांसद महेश बर्तौलाले उनको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरे । यता, रास्वपाका सांसद स्वर्णिम वाग्लेले गौतमको भनाइ सरकारी टोलीबारे नभई अन्य व्यक्तिहरूबारे भएको स्पष्ट पारे ।

नेपाली काँग्रेसकी सांसद शान्ति विकले पनि गौतमको भनाइलाई लिएर नेपाली भाषा नबुझ्नेहरूले गलत बुझाइ गरेको टिप्पणी गरेकी थिइन ।

Skip This
Skip This
Logo