काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असोक कुमार चौधरीले मानव तस्करीको घटनालाई लिएर सरकार र सत्ता संरचना नै संलग्न भएको आरोप लगाएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै चौधरीले मानव तस्करीको विषय संसदमा ४७ दिनदेखि उठाइएको भए पनि त्यसलाई बेवास्ता गरिएको भन्दै आक्रोश पोखे ।
उनले भने, ‘के सत्ता संरचना, भ्रष्टाचार र मानव तस्करीमा संलग्नहरुलाई उन्मुक्ति दिने रक्षा कवज हो? वा श्रृजित षड्यन्त्र हो ? यो प्रश्न अब जनताले सोध्न थालेका छन् ।’
सांसद चौधरीले पछिल्लो समय स्पेनमा सार्वजनिक भएको घटनाले मानव तस्करी कति गहिरो र योजनाबद्ध ढंगले भइरहेको छ भन्ने स्पष्ट भएको दाबी गरे । उनले यस अपराधमा सरकारी संयन्त्रको संलग्नता बिना यति ठूलो तस्करी सम्भव नभएको पनि बताए ।
‘मानव तस्करी र भ्रष्टाचार यदि ठूलो आकारमा भइरहेको छ भने त्यो सरकारी संयन्त्रको साथविन सम्भव छैन,’ उनले भने, ‘यस्ता गम्भीर आरोपबीच कर्तव्यच्यूत भएर पदमा टिकिरहनु नैतिकताको पनि अपमान हो । निर्दोष जनतालाई जेल र भ्रष्ट मन्त्रीहरुलाई कुर्सी यो सरासर अन्याय हो ।’
सांसद चौधरीले मानव तस्करीको विषय अब संसद मात्रै नभई सडक, नागरिक समाज र सञ्चारमाध्यममा समेत पुगेको भन्दै सरकारलाई गम्भीर बन्न चेतावनी दिएका छन् ।































प्रतिक्रिया