काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले आन्दोलन नरोकिएको र यसले छिट्टै सफलता प्राप्त गर्ने बताएकाे छ ।
नवराज सुवेदी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा नै फर्किन खोजेपछि जनआन्दोलन समितिलाई अहिलेसम्मको भूमिकाका लागि धन्यवाद दिँदै समिति प्रवक्ता स्वागत नेपालले यस्ताे बताएका हुन् ।
‘समितिका संयोजक ज्युलाई सबैका साझा व्यक्तित्वका रुपमा उहाँले पार्टीको आबद्धता परित्याग गर्नुभएको घोषणा पश्चात ४४ वटा पार्टी, अभियान, र संघसंस्थाहरुले स्वीकार गर्नु भएको थियो तर पुनः पार्टीकै जिम्मेवारीमा रहन चाहनु भएपछि आन्दोलनले पुनः स्वतन्त्र संयोजनकारी भूमिका निर्वाह गर्ने सामूहिक प्रयास खोजेको छ। उहाँले आफू आफ्नो पूर्ववत् पार्टीको जिम्मेवारीमै रहन चाहनु भएको अभिव्यक्ति दिनु पूर्वसम्मको भूमिकाका लागि उहाँमा हार्दिक आभार तथा धन्यबाद ज्ञापन गर्न कसैले कञ्जुस्याइँ गर्नु हुँदैन ।’ विज्ञप्तिमा भनिएको छ ।
संयुक्त जनआन्दोलनको प्रकृतिबारे स्पष्ट पार्दै समितिले दलका व्यक्तिहरुको संलग्नतालाई स्वाभाविक मानेको छ। विगतका सबै संयुक्त जनआन्दोलनमा दल, अभियान र संघसंस्थाहरुको सक्रिय संलग्नता र नेतृत्व रहने गरेको तथ्य स्मरण गराउँदै विज्ञप्तिमा भनिएको छ, “संसारका सबै देशमा राजसंस्था पुनर्स्थापनाका लागि भएका आन्दोलनमा पनि केवल शुरुदेखि राजसंस्था पुनर्स्थापना गर्न सक्रिय रहेका दलहरु मात्र नभई शुरुमा राजसंस्था विरोधी पहिचान बनाएका दल, समूह र व्यक्तिहरुको पनि नेतृत्व नै रहने गरेको इतिहासलाई समेत सम्झँदै राजसंस्थ पुनर्स्थापनाका लागि अझै पनि सबै देशभक्त, प्रजातान्त्रिक (उन्नत लोकतान्त्रिक), राष्ट्रवादी सबै दल, समूह, व्यक्तित्वहरु सबैको आआफ्नै स्थानबाट नेतृत्व नेपालमा पनि क्रमशः घोषित रुपमा अघि बढिरहेको छ।”
साथै सरकारले शान्तिपूर्ण कार्यक्रममा षडयन्त्रपूर्वक गोली हान्ने योजना बनाएको सूचना प्राप्त भएको भन्दै सरकारले छेक्न नसक्ने नयाँ प्रकृतिका सिर्जनशील प्रतिरोधी योजनाका साथ आन्दोलन अघि बढाइने चेतावनी पनि दिइएको छ।
‘राजसंस्था पुनर्स्थापनाको आन्दोलन रोकिएको छैन । विश्वका धेरै देशमा राजसंस्था पुनर्स्थापनाको आन्दोलनले नेपालभन्दा लामो समय पनि लिएको छ । नेपालमा आन्दोलनको सफलता चाँडै नै निश्चित हुने गरी नयाँ प्रविधि, सिर्जनशील प्रकृति र शान्तिपूर्ण तर छेक्नै नसक्ने गरी कार्यक्रमको तयारी भइरहेको छ।’ उनले भने, ‘सरकारले यस पूर्वझैँ शान्तिपूर्ण कार्यक्रममा षडयन्त्रपूर्वक ताकीताकी राष्ट्रिय गान गाइरहेको स्थानमा र आन्दोलनसँग सरोकार नै नभएका नागरिकहरुलाई समेत गोली हानेर मारेझैँ मार्ने योजना बनाएको सूचना प्राप्त भएपछि सरकारले छेक्नै नसक्ने नयाँ प्रकृतिका सिर्जनशील रुपमा प्रतिरोधी योजनाका साथ आन्दोलन अघि बढाइने छ ।’





























प्रतिक्रिया