बल्खुपछि एमालेको तीन मुख्यालय, विद्या भण्डारीको प्रवेश दुवै ठाउँमा एक-एक दिन मात्रै

बल्खुपछि एमालेको तीन मुख्यालय, विद्या भण्डारीको प्रवेश दुवै ठाउँमा एक-एक दिन मात्रै

केन्द्रबिन्दु
63
Shares

काठमाडौं । वि.सं.२०७२ सालको भूकम्पले बल्खुमा रहेको पार्टी मुख्यालय क्षतिग्रस्त भएपछि १० वर्षमा तीन ठाउँ परिवर्तन भएको छ । बल्खुमा झन्डै सात रोपनी हाराहारीमा जग्गामा भवन एमालेले २०५१ सालमा बनाएको हो । जननेता मदन भण्डारीको नीति अनुरूप पार्टी चल्न थालेपछि बल्खुलाई पनि मदन नगर नामकरण गरिएको थियो । त्यति बेला एमालेको अल्पमतको सरकार भएको समय भवन तयार भएको थियो ।

२०७२ साल साउन २३ गतेदेखि धुम्बाराहीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठानमा केन्द्रीय कार्यालयबाट एमाले मुख्यालयको काम सुरुवात भयो । पासाङ ल्हामु स्मृति प्रतिष्ठानका नाममा रहेको भवन एमालेले प्रयोग गरेको भन्दै सर्वत्र विरोध भयो । पासाङ ल्हामु स्मृति प्रतिष्ठान यती समूहको अभिभावकत्वमा रहेको संस्था हो ।

सरकारले प्रतिष्ठानलाई भोगाधिकार दिएको जग्गा एमालेलाई भाडामा लगाइएको भन्दै विरोध भएपछि एमाले व्यापारी मोती दुगडको प्रबन्धमा त्यहाँबाट थापाथली हाइट सरेको थियो। उक्त स्थान साँघुरो र असहज भएको भन्दै केन्द्रीय कार्यालय त्यहाँबाट पुन सारेर २०७९ वैशाख ९ गते ललितपुर च्यानलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा पुर्याइयो । तुलसीलाल स्मृति प्रतिष्ठानको भवन एमालेले पाँच वर्षका लागि भाडामा लिएको हो ।

बल्खुस्थित पार्टीको पुरानो कार्यालय परिसरमै नयाँ भवन निर्माण शिलान्यास पनि भयो । बल्खुमा पर्याप्त जग्गा रहेको र मदन भण्डारीको भावनासँग जोडिएको भन्दै देशभरका कार्यकर्ताबाट पनि दबाब परेपछि नेताहरू बल्खुमै नयाँ भवन बनाएर पार्टी कार्यालय राख्ने निष्कर्षमा पुगेका हुन् । २०७७ वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालय भवन शिलान्यास गरेका थिए । दुई वर्षमा तयार गर्ने लक्ष्यका साथ सुरु गरिएको एमाले मुख्यालय ५ वर्षसम्म कुनै काम भएन ।

बल्खुमा पार्टी कार्यालय खडा गर्न नसकेको एमालेलाई २०८१ असोजमा भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङले केन्द्रीय कार्यालय बनाउन बनाई दिने उद्घोष गरे । १० रोपनी १४ आना जग्गा दानसँगै गत वर्षको दशैंको महाअष्टमीको दिन कीर्तिपुर मैत्रीनगरको जग्गामा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै मीनबहादुर र उनकी पत्नी सावित्री घलेले भवनको संयुक्त रूपमा शिलान्यास गरे । उक्त विषयको विवाद अदालतसम्म पुग्यो । बल्खुमा पार्टी कार्यालय भवन निर्माण गर्नका लागी कार्यकर्ताबाट एमालेले करोडौ रुपैयाँ सङ्कलन पनि गरी सकेको छ । तर मदन नगरमा एमाले भवन नबन्ने निश्चित जस्तै भएको छ ।

दुई पार्टी मुख्यालयमा विद्या भण्डारीको प्रवेश एक-एक दिन मात्रै

२०५० साल जेठ ३ मा मदन भण्डारीको विवादास्पद जीप दुर्घटनामा मृत्यु भएपछि विद्या भण्डारी सक्रिय राजनीतिमा देखिन थालिन् । २०३५ देखि नेकपा मालेको युवा लिगमा सङ्गठित हुँदै विद्याले राजनीतिक जीवनको थालनी गरेकी थिइन्। भण्डारी वि.सं. २०५४ सालमा नेपालगन्जमा भएको एमालेको छैटौँ महाधिवेशनदेखि एमालेको केन्द्रीय समितिमा पुगिन् । करिब २ दशकदेखि उनी पार्टीको भ्रातृ सङ्गठन अखिल नेपाल महिला सङ्घकी अध्यक्ष भइन् वि.सं. २०६५ सालमा बुटवलमा भएको आठौँ र काठमाडौँमा भएको नवौँ महाधिवेशनबाट भण्डारी पार्टी उपाध्यक्षमा निर्वाचित भण्डारी पार्टी कार्यालय बल्खुमै नेता कार्यकर्ता भेट्ने गर्थिन् ।

२०७२ साल साउन २३ गतेदेखि धुम्बाराहीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठानमा केन्द्रीय सार्ने समय विद्या स्वास्थ्य उपचारका लागि देश बाहिर थिइन् । पासाङ ल्हामु स्मृति प्रतिष्ठानमा सार्ने कुरामा विद्याले विमति जनाइन् । त्यसको मुल कारण थिए, पासाङ ल्हामु स्मृति प्रतिष्ठानका अध्यक्ष कृपाशुर शेर्पा । शेर्पा बहुविवाह गरेका व्यक्ति थिए र कान्छी श्रीमतीलाई हेला गर्नुका साथै कान्छीतिरको सन्तानलाई नागरिकता दिएका थिएनन् । त्यस्तो विवादित व्यक्तिलाई कार्वाही गर्नु वा त्यो मुद्दा नमिले सम्म आफू उक्त कार्यालय नजाने अडान विद्याले राखिन् । नभन्दै उनी उक्त कार्यालयमा हुने पार्टीका कुनै पनि मिटिङ बैठकमा गइनन् । २०७२ कार्तिकमा एमालेले धुम्बाराहीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठानमाबाटै विद्यालाई राष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय गरेको दिन मात्र उक्त कार्यालयमा पुगेकी थिइन् ।

त्यसको करिब १० वर्षपछि असार १४ गते पति मदन भण्डारीको ७४औँ जन्म जयन्तीको अवसरमा पुनः सक्रिय राजनीतिमा फर्कने उद्घोष गरेसँगै पूर्वराष्ट्रपति भण्डारी पार्टीमा सक्रिय हुनेबारे पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने भन्दै २०८२ साउन ४ गते पहिलोपटक पार्टी कार्यालय पुगेकी थिइन् । प्रधानमन्त्री ओलीले भण्डारीलाई बालुवाटार आउन आग्रह गरेपनि च्यासलको नयाँ कार्यालय नदेखेको भन्दै च्यासल पुगेकी हुन् ।

तर, भण्डारीलाई बुधबार सम्पन्न एमालेको केन्द्रीय समिति बैठकले सक्रिय राजनीतिमा आउन रोक्ने निर्णय गरेको छ । योसँगै उनको पार्टी कार्यालय प्रवेश पहिलो र अन्तिम पनि हुन सक्ने धेरैको आंकलन रहेको छ । अब उनीसँग चुपचाप एमाले निर्णय स्वीकार्ने वा यसलाई अवज्ञा गर्ने दुई विकल्प बाँकी रहेको छ।

Logo