काठमाडौ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले सामाजिक अराजकता र राजनीतिक अस्थिरतालाई नियन्त्रण नगरी विकास र समृद्धिको लक्ष्य हासिल गर्न नसकिने बताएका छन्। उनले बलियो राज्यका लागि राजनीतिक दलहरूलाई बलियो बनाउनुपर्ने र त्यसका लागि नीतिगत ध्रुवीकरणको अभियान अगाडि बढाउन आवश्यक रहेकोमा जोड दिए।
बिहीबार राष्ट्रिय युवा सङ्घ नेपालले साउन १५ को अवसरमा आयोजना गरेको ‘खिर खाने कार्यक्रम’लाई सम्बोधन गर्दै महासचिव पोखरेलले भने, ‘सामाजिक अराजकता र राजनीतिक अस्थिरतामाथि विजय हासिल गर्न नसके विकास र समृद्धिको आकांक्षा पूरा गर्न सकिँदैन।’ उनले यसका लागि राज्यलाई बलियो बनाउनुपर्नेमा जोड दिए।
पोखरेलले बलियो राज्यका लागि राजनीतिक दलहरूलाई बलियो बनाउनुपर्ने र राजनीतिक दलहरूलाई बलियो बनाउन नीतिगत रूपमा राजनीतिक ध्रुवीकरणको अभियानलाई अगाडि बढाउन आवश्यक रहेको धारणा राखे। उनले नयाँ पुस्ताले जनमत विभाजित गर्ने परम्परालाई बदलेर एकीकृत गर्नुपर्ने आवश्यकतामा जोड दिए। महासचिव पोखरेलले नेकपा (एमाले) युवाहरूको उज्ज्वल भविष्य सुनिश्चित गर्ने सामर्थ्य राख्ने पार्टी भएकाले युवाहरूको आकर्षण एमालेप्रति बढेको बताए। उनले ‘अब नेकपा (एमाले)को नेतृत्वमा एकल बहुमतको सरकार बनाउने दिशामा अघि बढ्नुपर्छ’ भन्ने भनाइ राखे।
यसैगरी, सोही दिन राष्ट्रिय युवा सङ्घ नेपालको एक महिने रक्तदान अभियानको शुभारम्भ गर्दै महासचिव पोखरेलले नयाँ पुस्ता कृषि कर्मबाट अलग हुँदा कृषि क्षेत्रमा समस्या उत्पन्न भइरहेको तर्क गरे। उनले नेपालमा पछिल्लो समय नयाँ पुस्ता कृषि कर्ममा नलाग्ने र विदेश पलायन हुने क्रम बढिरहेको बताए।
‘नेपालमा पछिल्लो समय नयाँ पुस्ता कृषि कर्मबाट अलग हुँदा एक किसिमको समस्या उत्पन्न हुन थालेको छ,’ उनले भने, ‘खासगरी पहाडमा जमिनहरू बाँझै रहने र युवाहरू रोजगारीका लागि विदेशिनुपर्ने जुन प्रकारको अवस्था छ, त्यसलाई बदल्ने संकल्प पनि हामीले गर्न सक्नुपर्दछ।’
महासचिव पोखरेलले युवालाई कृषि कर्ममा लगाउन सके धेरैले स्वदेशमै रोजगारी पाउने बताए। उनले नेपालमा जनसङ्ख्याको ठूलो हिस्सालाई रोजगारी प्रदान गर्न सक्ने क्षेत्र कृषि नै रहेको भन्दै यसले नेपालका ७० प्रतिशत जनतालाई कृषि कर्ममा जोड्न सक्ने बताए। ‘हाम्रो समाजमा कृषि निर्वाहमुखी रहेका कारण नयाँ पुस्ता कृषि कर्मसँग जोडिन सकिरहेका छैनन्,’ उनले भने, ‘अब हामीले नयाँ पुस्तालाई कृषिकर्मसँग कसरी जोड्ने भन्ने कुरा अबको युवा आन्दोलनको साझा विषय बन्नुपर्दछ।’ महासचिव पोखरेलले प्रविधिले जतिसुकै फड्को मारे पनि अन्नको उपलब्धता नभएसम्म मानिसको जीवन कष्टकर बन्ने बताए। उनले मधेश प्रदेश सुख्खाग्रस्त बनेको भन्दै सरकारले विभिन्न योजनासहित काम गरिरहेको जानकारी दिए।





























प्रतिक्रिया