जसपा र राष्ट्रिय मुक्ति पार्टीबीचको कार्यगत एकता राजनीतिक बेइमानीको निरन्तरता नबनोस् -पूर्ण बस्नेत

जसपा र राष्ट्रिय मुक्ति पार्टीबीचको कार्यगत एकता राजनीतिक बेइमानीको निरन्तरता नबनोस् -पूर्ण बस्नेत

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबीचको कार्यगत एकता राजनीतिक बेइमानीको निरन्तरता नबनोस् भनी टिप्पणी गरेका छन् ।

दुई दलबीच भएको कार्यगत एकता सफलताको शुभकामना दिँदै बस्नेतले उक्त टिप्पणी गरेका हुन् । उनले भने, ‘पहिचानवादीहरु एक ठाउँमा हुँदाखेरी नै जनतामाथि षड्यन्त्र हुने गर्दछ । पहिचानको आन्दोलनमाथि धोका दिने काम हुन्छ । आफूलाई पहिचानवादी ठान्नेहरु वास्तवमा अस्थिर र अवसरवादी छन् ।’

उनी पहिचानवादी भनिनेहरु पहिचान विरोधी शक्तिको इशारा र निर्देशनमा चल्ने गरेको आरोप लगाउँछन् । उनी भन्छन् ‘आफू कमजोर बन्दा पहिचान र अधिकारको सवाल उठाउने र आफू र पार्टी बलियो बन्दा त्यहि पहिचान र अधिकारको आन्दोलनलाई कमजोर बनाउने काम गर्छन् ।’

उनले विचार, सिद्धान्त र मुद्दाको पार्टी छोडेर आफ्नो लागि पार्टी बनाउने काम गरेका पहिचानवादी भनिनेहरुलाई अब गम्भीर आत्मसमीक्षा गर्न सुझाव दिएका छन् । कुनै समय जनता समाजवादी पार्टी (जसपा) नेपालमा एकतावद्ध रहेका बाबुराम भट्टराई, महन्थ ठाकुर, राजेन्द्र महतो, अशोक राईले आ–आफ्नो पूर्ववत् गुट लिएर आफै नेतृत्व गर्नेगरी आफनो लागि पार्टी बनाएको भन्दै यस्तो प्रवृत्ति र दृष्टिकोणले जनताको अधिकार स्थापित गर्न नसकिने उनको भनाइ छ ।

Logo