खाली कागजमा सही गर्ने सांसदहरुलाई रोशन कार्कीले ‘धिक्कार होस्’ भनेपछि…

खाली कागजमा सही गर्ने सांसदहरुलाई रोशन कार्कीले ‘धिक्कार होस्’ भनेपछि…

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले उपसभामुखलाई अविश्वासको महाअभियोग लगाउन एमाले र नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई खाली कागजमा सही गराएको भन्दै आक्रोश पोखेकी छन् ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आसे पासे नियुक्ति गर्न उपसभामुखलाई अविश्वासको महाअभियोग लगाउने प्रयास गरिएको बताएकी हुन् । उनले आक्रोश हुँदै भनिन्, ‘एमाले र नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई खाली कागजमा सही गराएछन् । सही गराउने कस्तो पार्टी? सही गर्ने कस्ता माननीयहरु धिक्कार होस् ?’

उनले खाली कागजमा हस्ताक्षरगरी संवैधानिक परिषद्मा बहुमत पुर्याउन आसेपासे नियुक्तिको लागि नौटंकी गरेको बताइन् ।

उनले भनिन्,‘हिजो दिनभरी नौटंकी देखियो । एमाले र नेपाली कांग्रेसले आफ्ना माननीयहरुलाई खाली कागजमा सही गराएको भन्ने खबर सुनियो यो के को लागि भने भन्दा उपसभामुखलाई अविश्वासको महाअभियोग लगाउने रे संवैधानिक परिषद्मा बहुमत पुगेन उहाँहरुलाई बहुमत पुर्याउन आफ्ना आसे पासे नियुक्ति गर्नका लागि उपसभामुखलाई अविश्वासको महाअभियोग कुरा चल्यो ।’

यस्तै, कार्कीको अभिव्यक्तिमाथि एमालेका सांसद सूर्य थापाले आपत्ति जनाएका छन् ।

उनले कार्कीको अभिव्यक्ति लाञ्छनापूर्ण रहेको भन्दै रेकर्डबाट हटाउनु माग समेत गरे । ‘यो आरोपपूर्ण, लाञ्छनापूर्ण, गालीगलौजपूर्ण र अपमानपूर्ण यो ढङगको अभिव्यक्तिलाई त्यो कुर्सिबाट निषेधित गरिनुपर्छ,’ उनले भने, ‘माननीय सदस्यले कस्ता कागजमा सही गराएको भन्ने ढङ्गका जुन लाञ्छनापूर्ण अभिव्यक्ति दिनु भएको छ यो रेकर्डबाट हटाउनुपर्छ ।’

Skip This
Skip This
Logo