काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमणका क्रममा चीनका राष्ट्रपति र भारतका प्रधानमन्त्रीसँग हुने भेटवार्तामा नेपालको लिपुलेकका विषयमा चीन–भारतबीच भएको सहमतिबारे कुरा उठाइने जनाइएको छ ।
सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले साङ्घाई सहयोग सङ्गठन (एसइओ) शिखर सम्मेलनमा भाग लिन चीन जाने सिलसिलामा सो विषयमा प्रधानमन्त्रीले छिमेकी मुलुकबीच भएको सहमतिबारे कुरा उठाइने जानकारी दिए ।
प्रधानमन्त्री ओलीले यही भदौ १४ देखि १८ गतेसम्म चीनको भ्रमण गर्ने तय भएको छ । सञ्चार तथा सूचनाप्रविधि मन्त्री गुरुङले भने, “भारत र चीनका विदेशमन्त्रीबीच लिपुलेकका विषयमा भएको सहमति नेपालको सार्वभौमिकताका विरुद्धमा छ । साङ्घाई फोरमका सिलसिलामा छिमेकी शीर्ष नेतृत्वबीच हुने उच्चस्तरीय भेटघाटमा यो विषयमा कुराकानी हुन्छ ।”
भ्रमणका क्रममा प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच ‘साइडलाइन’ भेटवार्ताका लागि दुवै देशका तर्फबाट तयारी भइरहेको उनको भनाइ थियो ।
मन्त्री गुरुङले भारत र चीनका विदेशमन्त्रीबीच नेपालको लिपुलेक भएर व्यापारिक मार्ग प्रयोग गर्ने सन्दर्भमा भएको सहमतिबारेमा नेपाल सरकारका तर्फबाट यसअघि नै परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक नोट जारी गरिसकेको बताए ।
यसैबीच, उनले सरकारले नयाँ र ठूला योजना नथप्ने र गर्नसक्ने योजनामात्रै नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने नीतिलाई कडाइका साथ अवलम्बन गरिने उल्लेख गरे । खस्किँदो अर्थतन्त्र वर्तमान सरकारका नीति र क्रियाकलापले लयमा फर्किएको बताउँदै उनले अन्तरमन्त्रालय समन्वयका कारण तीव्रगतिमा हुन नसकेका विकास पूर्वाधारलाई समन्वय गरी अघि बढाइने प्रतिबद्धता व्यक्त गरे ।
मन्त्रालयका कामलाई चुस्तदुरुस्त बनाउन तथा प्रभावित हुन नदिन मन्त्रीको विदेश भ्रमणमा कडाइ गरिएको तथा मन्त्री र सचिव एकैसाथ भ्रमणमा जान नदिने व्यवस्था गरिएको उनको भनाइ थियो ।





























प्रतिक्रिया