केन्द्रबिन्दु बुलेटिन : तोकिएकै समयमा निर्वाचन गराउन आयोगलाई ओलीपक्षको आग्रह (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : तोकिएकै समयमा निर्वाचन गराउन आयोगलाई ओलीपक्षको आग्रह (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

हामीले हरेकदिन दिनभरिका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्ने गरेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं । आजका मूख्य समाचारहरु मध्ये नेकपाको प्रधानमन्त्री केपी शर्मा ओली पक्षले तोकिएकै समयमा निर्वाचन गराउन आयोगलाई आग्रह गरेको छ । शुक्रबारका लागि निर्वाचन आयोगले बोलाएको छलफलमा प्रचण्ड पक्षिय नेकपा सहभागी नभएपनि अनौपचारिक छलफलका क्रममा ओली पक्षका नेता सुवासचन्द्र नेम्बाङले यस्तो आग्रह गरिएको जानकारी गराए । यता, प्रचण्ड पक्षिय नेकपाले भने आजको बैठकमा सहभागिता जनाउन नसकेको पत्र आयोगमा पठाएपछि आयोगले पुनः अर्को बैठक बोलाउने तयारी गरेको छ ।

आज माघ १६ गते अर्थात् शहीद दिवश । देशमा प्रजातन्त्र स्थापनाका निम्ति जीवन बलिदान गर्नेहरु जो, जहानियाँ राणा शासनविरुद्ध लड्दालड्दै ज्यान बलिदान दिएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाइँदै आइएको छ भने, पछिल्ला वर्षहरुमा शहीद दिवसको दिन अन्य जनआन्दोलनमा प्राण आहूति दिने योद्धाहरूको पनि सम्मान गरिन्छ । यसै क्रममा आज प्रधानमन्त्री केपी शर्माओलीले शहीदहरूको सम्झनामा शहीद स्मारक लैनचौरमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् भने, शहीदको मार्गनिर्देशनबाटै ‘सुखी नेपाली, समृद्ध नेपाल’ को अवधारणा पुरा हुने विश्वास पनि व्यक्त गरेका छन् ।

चालु आर्थिक वर्षमा नेपाल सरकारले देशको कुल आर्थिक वृद्धिदर ७ प्रतिशत हुने लक्ष राखे पनि कोरोना भाइरसका कारण घटेर ५ प्रतिशतमा कायम रहने अर्थ मन्त्रालयले जनाएको छ । शुक्रबार राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको बैठकमा मन्त्रालयका सचिव शिशिकुमार ढुंगानाले आर्थिक वृद्धिदर ५ प्रतिशत हुन सक्ने तथा गरिबी निवारणमा सरकारले राखेको लक्ष्य भने प्रभावित हुन सक्ने संकेत गरे ।

प्रचण्ड–माधव पक्षीय नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीबाट आफूमाथि अत्याचार भएको भन्दै जनतासमक्ष न्याय मागेका छन् । शुक्रबार विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रचण्डले आफ्ना छोराछोरीले गणतन्त्रका लागि बन्दुक बोकेको तर ओलीले त्यसको अपमान गरेको बताए । यता प्रचण्ड–माधव पक्ष निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले प्रतिनिधिसभा विघटन र सरकारको कदम नसच्चिदा सम्मका लागि भन्दै तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

शर्मिला थापा र रश्मि घिसिङको ह्याट्रिक मद्दतमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले महिला राष्ट्रिय लिग फुटबलमा दोस्रो जीत निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा आर्मीले रौतहटको चन्द्रपुर नगरपालिकालाई १०–० को फराकिलो अन्तरले पराजित गरेको हो । आर्मीको जीतमा शर्मिला थापा र रश्मि घिसिङले ४–४ गोल तथा विमला चौधरी र सपना लामाले एक/एक गोल गरेका थिए ।

Logo