काठमाडौं । सभामुख देवराज घिमिरेले लामो समयदेखि जारी रहेको संसद अवरोध अन्त्य गर्न सरकार र प्रतिपक्षी दलहरूलाई संवादको माध्यमबाट सहमति खोज्न अपिल गरेका छन्।
भिजिट भिसा प्रकरणको छानबिन लगायतका माग राखेर प्रतिपक्षी दलले संसद बैठकमा निरन्तर अवरोध गरिरहेको सन्दर्भमा सभामुखले आजकाे बैठककाे सुरुमै यस्तो अपिल गरेका हुन्।
संसद बैठक सुरु हुनासाथ प्रतिपक्षी दलले असहमतिको प्रदर्शन गर्दै बाहिरिने गरेको प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै सभामुख घिमिरेले यसले संस्थागत लोकतान्त्रिक प्रणाली र संसदीय अभ्यासका लागि दीर्घकालीन रूपमा नकारात्मक असर पार्न सक्ने चेतावनी दिएका छन्। उनले संसद असहमति व्यक्त गर्ने मात्र नभई राष्ट्रिय सहमतिको आवाज प्रकट गर्ने थलो पनि भएकोमा जोड दिए।
वर्तमानमा संघीयतासँग प्रत्यक्ष सम्बन्धित महत्वपूर्ण विधेयकहरूमाथि छलफल भइरहेकोले सबै सांसदहरूलाई गम्भीर र रचनात्मक बहसमा सहभागी हुन आग्रह गर्दै सभामुखले यी विधेयकहरूलाई पारित गर्न सबैको सहयोग अपरिहार्य रहेको बताए।





























प्रतिक्रिया