प्रधानमन्त्री ओली आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

प्रधानमन्त्री ओली आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान चीन भ्रमणमा जाँदै छन्। चीनका राष्ट्रपति सी जिनपिङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली ५ दिने चीन भ्रमणमा जान लागेका हुन्।

चीनको थियानजिन शहरमा आयोजना हुने सांघाइ सहयोग संगठन (सांघाइ कोअपरेशन अर्गनाइजेशन) को शिखर सम्मेलनमा भाग लिनको लागि उनी त्यसतर्फ जान लागेका हुन् ।

भ्रमण दलमा राधिका शाक्य, पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवम् प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, पूर्वमन्त्री एवम् प्रतिनिधिसभाका सदस्य छबिलाल विश्वकर्मा र नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरू सहभागी हुनेछन् ।

ओलीले भ्रमणका क्रममा चीनका महामहिम राष्ट्रपति सी चिनफिङसँग दुई पक्षीय भेट गर्ने कार्यक्रम रहेको छ । साथै, बेइजिङमा चीनका महामहिम उपराष्ट्रपति हान चङ्गसँग र चीनका महामहिम राष्ट्रपति र उपराष्ट्पतिले दिने छुट्टाछुट्टै रात्रिभोजमा समेत सहभागी हुने कार्यक्रम रहेको छ ।

त्यसपछि २०८२ भदौ १६ (तदनुसार २०२५ सेप्टेम्बर १) थियानजिनमा हुने एससिओ प्लस शिखर सम्मेलनमा सम्बोधन गर्ने, सम्मेलनका दौरान विभिन्न मित्रराष्ट्रहरूका राष्ट्र तथा सरकार प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका पनि रहेको छ ।

हालसम्म रूसी महासंघका महामहिम राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका महामहिम राष्ट्रपति डा.मोहमद मिज्जु, कम्बोडिया अधिराज्यका महामहिम प्रधानमन्त्री डा.सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोन तथा समाजवादी गणतन्त्र भियतनामका महामहिम प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता तय भइसकेको छ ।

अन्तिम कार्यक्रमको रुपमा विश्वका नेताहरुसँगै प्रतिनिधि मण्डल पनि आगामी भदौ १८ गते (तदनुसार २०२५ सेप्टेम्बर ३) चीन सरकारद्वारा बेइजिङमा आयोजना हुने फासिवाद विरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमण बिरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८०औं वार्षिकोत्सव समारोहमा सहभागी हुनेछ ।

चीन सरकारले जानकारी दिए अनुसार ५० भन्दा बढी देशले यी कार्यक्रममा सहभागिता जनाउने छन् ।

सांघाइ सहयोग संगठन (एससिओ), सन् २००१ मा स्थापना गरिएको, आज विश्वकै सबैभन्दा ठूलो क्षेत्रीय संगठनहरूमध्ये एकको रूपमा विकसित भइसकेको छ ।

चीन, रूस, भारत, पाकिस्तान, काजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान, इरान, र बेलारुस यसका पूर्ण सदस्य राष्ट्रहरू हुन् । अफगानिस्तान र मंगोलिया, दुई देश पर्यवेक्षक राष्ट्रहरू हुन् ।

नेपालसहित टर्की, श्रीलंका, अजरबैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, मालदिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स शाङ्घाई सहयोग संगठनका संवाद साझेदारहरू (डायलग पार्टनर) हुन् ।

Skip This
Skip This
Logo