‘नेपाल र चीनको निकटता झन् झन् बढ्दै छ’ : अध्यक्ष तिमिल्सिना

‘नेपाल र चीनको निकटता झन् झन् बढ्दै छ’ : अध्यक्ष तिमिल्सिना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जुनसुकै सरकार आए पनि नेपालको छिमेकी चीनसँगको नीति र सम्बन्धमा कुनै फेरबदल नहुने बताएका छन् । स्थानीय एभरेष्ट होटलमा शुक्रबारदेखि शुरु भएको ‘युनान साङ्ग्रिला सांस्कृतिक आदानप्रदान तथा तस्वीर प्रदर्शनी’ शुभारम्भ गर्दै अध्यक्ष तिमिल्सिनाले नेपाल सधैँ एक चीन नीतिमा प्रतिबद्ध रहँदै आएको स्पष्ट गरे ।

चिनियाँ पर्यटकलाई आकर्षित गर्ने खालका उत्पादन नेपालसँग रहेकाले त्यसको प्रवर्धन गर्नुपर्नेमा उनले जोड दिए। “कोभिड –१९ को महामारी भए पनि दुई देशका जनताबीचको मनको निकटता झन् झन् बढेको छ”, उनले भने ।

सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल र चीनबीच सदियौं पुरानो सम्बन्ध र साझा विशेषता रहेको बताए। विना कुनै समस्याका बीच नेपाल र चीनको सम्बन्ध कायम भएको ६५ वर्ष बितेको तथा दुई देशबीचको सम्बन्ध फराकिलो हुँदै गएकामा उनले प्रसन्नता व्यक्त गरे ।

मन्त्री भट्टराईले कोरोना महामारीका कारण नेपालले नेपाल भ्रमण वर्ष २०२० स्थगन गर्नु परे पनि अवस्था सहज हुनासाथ नेपालमा चिनियाँ पर्यटकको आगमन बढ्ने आशा व्यक्त गरे । सरकारले घुमफिरको वातावरणलाई सहज बनाउँदै लगेको मन्त्री भट्टराईको भनाइ थियो । पछिल्लो समय चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसियटिभमा नेपालसमेत सहभागी भएको र यसबाट आर्थिक विकास र समृद्धिमा ठूलो टेवा पुग्ने विश्वास उनले व्यक्त गरे।

एक सातासम्म चल्ने तस्वीर प्रदर्शनीको संयोजन नेपाल चाइना मिडिया फोरमले गरेको हो । कार्यक्रममा चिनियाँ प्रतिनिधिले भिडियो कन्फ्रेन्समार्फत कार्यक्रमको सफलताको कामना गरेका थिए । फोरमका अध्यक्ष किशोर श्रेष्ठले युनानसित नेपालको हजारौँ वर्ष सम्बन्ध रहेको तथा दुवैबीच भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको, नेपालबाट एक हजार ७४७ किमीको मात्र दूरी भई अढाइ घण्टाको मात्र हवाई उडान रहेको, नेपालका राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीहरु युनानमा आयोजित विभिन्न कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेको र मिडियाबीचको सम्बन्ध पनि निकै राम्रो रहेको उल्लेख गरे।

उनका अनुसार युनानमा दक्षिण एशियाका मात्र २० हजार विद्यार्थी अध्ययनरत छन् । सात दिनको प्रदर्शनीमा युनानका भूगोल, जनजाति र संस्कृति सम्बन्धी मनमोहक ३२ तस्वीर छन् ।

Skip This
Skip This
Logo