परराष्ट्रमन्त्री राणाले बूढानीलकण्ठस्थित निवासमा भित्र्याइन् गौरा

परराष्ट्रमन्त्री राणाले बूढानीलकण्ठस्थित निवासमा भित्र्याइन् गौरा

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले काठमाडौँको बूढानीलकण्ठस्थित आफ्नो निवासमा शनिबार गौरा भित्र्याएकी छन् । उनले धार्मिक अनुष्ठान एवं विशेष पूजाआजासहित आज गौरा भित्र्याएकी हुन् ।

यसअघिका वर्षहरूमा गौरा पूजनका लागि उनी धनगढी जाने गरेकामा यसपटक भने धनगढीस्थित निवासको पुनर्निर्माण भइरहेकाले काठमाडौँमा गौरा भित्र्याएकी हुन् ।

हरेक वर्ष भाद्र सप्तमीका दिन बाजागाजासहित गौरा भित्र्याउने गरिन्छ । विभिन्न वनस्पतिबाट बनेको गौराको मूर्तिलाई देवी पार्वतीको प्रतीकका रूपमा धार्मिक अनुष्ठानका साथ गौरा घर एवं मन्दिरमा भित्र्याउने प्रचलन छ ।

मन्त्री डा राणाले गौरा पर्व सुदूरपश्चिमेलीहरूको विशिष्ट सांस्कृतिक गौरव भएको जनाउँदै आफू प्रत्येक वर्ष निष्ठापूर्वक व्रत बसी गौरा पूजा गर्ने गरेको बताइन् । गौराले सामाजिक एकता, सहिष्णुता र भाइचाराको सम्बन्ध स्थापित गर्ने उनले विश्वास व्यक्त गरिन् ।

भाद्र शुक्ल पञ्चमीको बिरुडा पञ्चमीबाट सुरु भई अष्टमीसम्म गरिने गौरा पूजामा महिलाहरू निराहार व्रत बसी शिव र गौरीको पूजाअर्चना गर्ने गर्दछन् । गौरा पर्व महिलाहरूले सौभाग्य, सुख, शान्ति र समृद्धिका लागि गरिने धार्मिक अनुष्ठान रहेको विश्वास गरिन्छ । गौरा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा विशेष रूपमा मनाउने गरिन्छ ।

Logo