प्रधानमन्त्री ओली स्वदेश फिर्ता

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् ।

उनी चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा शाङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही भदौ १४ गते चीनको तियाञ्जिन प्रस्थान गरेका थिए ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आज प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा तथा मुख्यसचिव एकनारायण अर्यालले स्वागत गरे ।

प्रधानमन्त्रीको स्वागतका लागि नेपाल सरकारका उच्चपदस्थ अधिकृत, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा नेपालस्थित चिनियाँ राजदूतावासका प्रतिनिधि विमानस्थल पुगेका थिए ।

त्यसक्रममा नेपाली सेनाको एक टुकडीले उनको सम्मानमा सम्मानगारत अर्पण गरेको थियो । स्वदेश फर्कनुअघि प्रधानमन्त्री ओलीले आजै बेइजिङमा आयोजित ८०औँ वार्षिकोत्सव तथ विशेष सैनिक परेड कार्यक्रममा सहभागिता जनाएका थिए । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भदौ १६ गते चीनको तियाञ्जिनमा आयोजना भएको शिखर सम्मेलनलाई सम्बोधन गरेका थिए । नेपाल सन् २०१६ देखि सो सङ्गठनको संवाद साझेदार रहँदै आएको छ ।

त्यस्तै उनले भ्रमणका दौरान चीनका राष्ट्रपति सी चिनफिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, रूसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिनलगायत विश्व नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

सन् २००१ मा स्थापना गरिएको एससिओ सङ्गठन विश्वकै सबैभन्दा ठूलो क्षेत्रीय सङ्गठनमध्ये एकका रूपमा विकसित भइसकेको छ । चीन, रूस, भारत, पाकिस्तान, काजकिस्तान, कीर्गिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान, इरान र बेलारुस यसका पूर्ण सदस्य राष्ट्रहरू हुन् ।

त्यस्तै अफगानिस्तान र मङ्गोलिया पर्यवेक्षक राष्ट्रहरू हुन् । नेपालसहित टर्की, श्रीलङ्का, अजरवैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, मालदिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स सङ्गठनका संवाद साझेदारहरू (डायलग पार्टनर) हुन् ।

Logo