एमाले र कांग्रेस कोशी प्रदेशको संयुक्त अपील- जनआन्दोलनबाट प्राप्त उपलब्धि जोगाऔं

एमाले र कांग्रेस कोशी प्रदेशको संयुक्त अपील- जनआन्दोलनबाट प्राप्त उपलब्धि जोगाऔं

केन्द्रबिन्दु
21
Shares

विराटनगर । नेकपा (एमाले) र नेपाली कांग्रेस, कोशी प्रदेशले जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्न र मुलुकलाई शान्तिपूर्ण निकास दिन सबै पक्षलाई आह्वान गरेका छन्।

एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडा र नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले जारी गरेकाे संयुक्त विज्ञप्तिमा जनताको अधिकार, सुशासन र अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न प्रतिबद्ध रहेको बताएका छन्।

संयुक्त विज्ञप्तिमा भनिएको छ, “मुलुकमा पछिल्लो दिनमा भएका घटनाले हामीलाई स्तब्ध र गम्भीर बनाएको छ। भ्रष्टाचारको अन्त्य, सुशासनको बहाली, अभिव्यक्ति स्वतन्त्रताको रक्षासहित मुलुकको विकास र सम्पन्नताको मुद्दाहरू सुरु भएको आन्दोलनको उद्देश्य सकारात्मक थियो, तर यसका बाबजुद आन्तरिक पार्टी जीवनमा पनि उतारचढाव देखिए।”

विज्ञप्तिमा जेन-जीको आह्वानमा भएको आन्दोलनलाई समर्थन गर्दै शान्तिपूर्ण प्रदर्शनमा युवाहरूको हताहत भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरिएको छ। पार्टीहरूले दोषीमाथि छानबिन गरी कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेका छन्।

साथै, आन्दोलनका क्रममा केही असामाजिक तत्वहरूले तोडफोड, हिंसा र लुटपाटमा संलग्न भई व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएकोमा दुवै पार्टीले चिन्ता व्यक्त गरेका छन्। विज्ञप्तिमा “जेन-जी आन्दोलनकारीले गरेको होइन” भन्दै यस्ता आपराधिक कार्य गर्नेलाई कारबाही गर्न सरकारलाई आग्रह गरिएको छ।

कांग्रेस र एमालेले नेपालको संविधान, लोकतान्त्रिक मूल्यमान्यता र गणतन्त्रलाई सर्वोपरि मान्दै कुनै पनि प्रकारको विघटनलाई अस्वीकार गरेका छन्। उनीहरूले वर्तमान राजनीतिक गतिरोधलाई संविधानसम्मत ढंगबाट वार्ता र शान्तिपूर्ण माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएका छन्।

साथै सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, र आम जनसमुदायलाई धैर्य, संयम र एकताका साथ अघि बढ्न अपिल गरेका छन्। उनीहरूले जेन-जी पुस्ताले उठाएका मागहरूलाई संविधानसम्मत लोकतान्त्रिक प्रक्रियाबाट पूरा गर्न राष्ट्रिय सहमतिको वातावरण बनाउन सबै पक्षलाई आग्रह गरेका छन्।

Logo