जेनजी आन्दोलनका शहीदहरूको सम्मानमा माइतीघरमा आज राष्ट्रिय झण्डा आधा झुकाइयो

जेनजी आन्दोलनका शहीदहरूको सम्मानमा माइतीघरमा आज राष्ट्रिय झण्डा आधा झुकाइयो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं। जेनजी आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको सम्झनामा नेपाल सरकारले आज राष्ट्रिय शोक घोषणा गरेको छ। देशभरका सरकारी कार्यालयहरू र काठमाडौंको माइतीघर मण्डलामा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। यो आन्दोलन सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, भ्रष्टाचार र नागरिक अधिकार हननविरुद्ध भदौ २३ र २४ गते युवा पुस्ताले सुरु गरेको देशव्यापी प्रदर्शन थियो।

जेनजी आन्दोलनले सरकारद्वारा सामाजिक सञ्जाल (टिकटक, फेसबुक, इन्स्टाग्राम) लगायतका माध्ययम माथि लगाइएको प्रतिबन्ध, भ्रष्टाचार र सामाजिक न्यायका मुद्दाहरूलाई लिएर आवाज उठाएको थियो। काठमाडौंको माइतीघर मण्डला, सिंहदरबार, संसद् भवनलगायत स्थानहरूमा हजारौं प्रदर्शनकारी भेला भएका थिए।

प्रहरीसँगको झडपमा कम्तीमा ७३ जनाको ज्यान गएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार, काठमाडौंका अस्पतालहरूमा उपचाररत घाइतेमध्ये सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, केएमसीमा २, त्रिवि शिक्षण अस्पतालमा १ र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको थियो। आन्दोलनका क्रममा आगजनी, लुटपाट र हिंसात्मक घटनाहरू पनि भए।

नेपाल प्रहरीले यी घटनाहरूको अनुसन्धानका लागि तस्बिर र भिडियो प्रमाण सङ्कलन गरिरहेको छ। सहिद परिवारहरूले शव बुझ्न थालेका छन्। १० जना मृतकको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ। पाटनलगायत स्थानहरूमा दीप प्रज्वलन र श्रद्धाञ्जलि सभाहरू आयोजना गरिएका छन्।

आन्दोलनको दबाबमा सरकार समेत परिवर्तन भएको छ। पूर्व मुख्य न्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गरिएको छ, र राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ दिलाएका छन्। नेपाली सेनाले निषेधाज्ञा र कर्फ्यू लगाएर स्थिति नियन्त्रणमा ल्याएको छ, र अहिले अवस्था सामान्य बन्दै गएको छ।

जेनजी आन्दोलनले नेपालको राजनीतिक इतिहासमा युवा पुस्ताको शक्तिशाली भूमिका उजागर गरेको छ। सामाजिक सञ्जालमार्फत सङ्गठित यो आन्दोलनले नागरिक अधिकार र सामाजिक न्यायका लागि नयाँ बहस छेडेको छ। अन्तरिम सरकारले अब प्रदर्शनकारीका माग सम्बोधन गर्दै स्थिरता कायम गर्ने अपेक्षा गरिएको छ।

Logo