बाेले ओली- जेनजी प्रदर्शनकारीलाई सरकारले ताकीताकी गोली हान्ने आदेश दिएको थिएन

बाेले ओली- जेनजी प्रदर्शनकारीलाई सरकारले ताकीताकी गोली हान्ने आदेश दिएको थिएन

केन्द्रबिन्दु
111
Shares

काठमाडौँ। निवर्तमान प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हालैको जेनजी प्रदर्शनका क्रममा सरकारले ‘प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश नदिएको’ स्पष्ट पारेका छन् ।

संविधान दिवसको अवसरमा एक अपील जारी गर्दै उनले देशको वर्तमान अवस्था र केही समयअघि भएका हिंसक घटनाहरूबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन् । ‘गत साता जेन-जीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ भयो-आह्वान कर्ताले भनेझैं । त्यसमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाहरुको ज्यान गयो। सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन। प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनु पर्दछ ।’ उनले भनेका छन् ।

अध्यक्ष ओलीले वर्तमान अवस्थामा संविधानमाथि ठूलो आक्रमण भएको’ दाबी गरेका छन्। प्रधानमन्त्री पदबाट आफूले राजीनामा दिएपछि सिंहदरबार जलाइएको, नेपालको नक्सा जलाइएको र देशको निशानी मेटाउन खोजिएको घटनाहरूले देशमा ठूलो षड्यन्त्र भइरहेको सङ्केत गरेको उनको भनाइ छ।

‘देश बनिरहेको थियो कि बिग्रेको काल्पनिक भाष्य खडा गरेर आक्रोश विस्तार मात्रै गरिएको थियो ?’ भन्ने प्रश्न गर्दै उनले नयाँ पुस्ताले आफैं महसुस गर्ने बताएका छन् । उनले विदेशिने भीडलाई नकारात्मक भनिरहेको समाजले आज देश बाहिरको अनुमति बन्द हुनुलाई के ठान्छ, त्यो पनि समयले देखाउने तर्क गरे ।

‘प्रधानमन्त्रीबाट मेरो राजीनामापछि सिंहदरबार जलाइएको छ – नेपालको नक्सा जलाइएको छ, देशको निशानी मेटाउन खोजिएको छ। जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका कार्यालय, तिनका नेता कार्यकर्ताको घर, व्यक्तिगत सम्पत्ति छानीछानी खरानी बनाइएको छ। यसका पछाडिको षड्यन्त्रबारे आज म धेरै कुरा भन्दिनँ, धेरै कुरा समयले आफैं बयान दिनेछ। हाम्रो देश बनिरहेको थियो कि बिग्रेको थियो, वा देश बिग्रेको काल्पनिक भाष्य खडा गरेर आक्रोश विस्तार मात्रै गरिएको थियो ? यी सबै कुरा हाम्रो नयाँ पुस्ताले आफैं महसुस गर्ने छ। विदेश जाने/आउने एयरपोर्टको भीडलाई नकारात्मक भनिरहेको समाज आज देश बाहिरको अनुमति बन्द हुनुलाई के ठान्ला, यो पनि समयले महसुस गराउने छ। हाम्रो नयाँ पुस्ताले आफैं बुझ्ने छ ।’ उनले भनेका छन्, ‘तर, यो कुरा समय छँदै बुझ्नु पर्ने छ, नबुझेमा हाम्रो देशको सार्वभौमसत्ता इतिहासमा मात्र रहने छ । हाम्रा युवाहरुले काजी भीम मल्लको मृत्युदण्डबारेको इतिहास पक्कै पढ्नु भएको छ। देशको सीमाना विस्तार गरेर फर्केका भीम मल्ललाई देश फर्किनासाथ काटिएपछि पछुताउने मात्र विकल्प बाँकी रह्यो। यथार्थ भन्दा बाहिर गएर विस्तार गरिएका असन्तोषका परिणामहरु पछुताउन मात्र काम लाग्छन्, त्यस पछुतोले नै बनिरहेको देशको झन् झन् गाढा सम्झना गराउने छ।’

Logo