काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संविधानसँगै मुलुकमा प्राप्त उपलब्धिको रक्षा गर्नु आजको मूल आवश्यकता भएको बताएका छन् ।
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै कडेँलेले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरे । उनले यो व्यवस्था ल्याउन आफ्नो अमूल्य जीवन बलिदान गर्ने महान् सहिदहरुप्रति सम्मान प्रकट गर्दै नेपाली जनताको सात दशकभन्दा लामो सङ्घर्ष र बलिदानपछि जननिर्वाचित संविधान सभाद्वारा नेपालको संविधान जारी भएको दिन ऐतिहासिक र महत्वपूर्ण दिन भएको औँलाए।
आज एक प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, “संविधान कानुनी सिद्धान्तमा आधारित राजनीतिक सहमतिको दस्तावेज हो । यसमा लिपिबद्ध नागरिक अधिकारलाई कार्यान्वयन गर्दै नागरिकका आवश्यकताको सम्बोधनका लागि तीनै तहका सरकार प्रयत्नरत भइरहेकै अवस्थामा भ्रष्टाचार नियन्त्रण, सुशासन तथा स्थिर सरकार जस्ता मागहरु लिएर सडकमा आएको जेनजी पुस्ताको प्रदर्शनपछि देशैभरि भएका आगजनी, हिंसा र लुटपाटका घटनाका कारण उत्पन्न परिस्थितिले यतिबेला हामी सबै सामु गम्भीर चुनौती आएको छ ।”
संविधान जारीपछि आवधिक निर्वाचनका माध्यमबाट तीन वटै तहका सरकारले विकास र समृद्धिको लय समाइरहेको अवस्थामा पछिल्लो घटनाक्रमले मुलुकलाई फेरि दशकौँ पछाडि धकेल्न भएको प्रयत्नको प्रतिवाद र नागरिकलाई राज्यप्रतिको भरोसा टुट्न नदिने गरी भरोसा बढाएर जानुपर्ने उनको भनाई छ । वास्तविक यथार्थतालाई स्वीकार्दै सच्चिएर जानुपर्ने र सङ्घीयता, लोकतन्त्र, समावेशी समानुपातिक व्यवस्थालगायतका महत्वपूर्ण उपलब्धिमाथि प्रहार गर्ने नियतका साथ गरिएका असंवैधानिक एवं अराजक गतिविधिबाट मुलुकलाई बचाउन सबै लोकतन्त्र एवं गणतन्त्रवादी शक्तिहरु एकताबद्ध हुन आग्रह मुख्यमन्त्रीले गरेका छन् ।





























प्रतिक्रिया