काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले पार्टीको नेतृत्व, नीति र सिद्धान्तमा आमूल परिवर्तनको माग गरेकी छन् । उनले देशको वर्तमान संवेदनशील परिस्थिति र ‘जेनजी क्रान्ति’ को आकांक्षालाई सम्बोधन गर्न पार्टीको तत्काल रुपान्तरण आवश्यक भएको जिकिर गरेकी छिन्।
डा. कार्कीले रास्वपाले सुशासन को जगमा उभिएको नैतिक र जनउत्तरदायी सरकार निर्माण गर्ने लक्ष्य लिए पनि पछिल्लो समय पार्टीप्रति केही प्रश्नहरू उठ्न थालेको स्वीकार गर्नुपर्ने अवस्था आएको पत्रमा उल्लेख गरेकी छन्। उनले नयाँ नेपाल निर्माणको यात्रामा पार्टीलाई मुख्य शक्तिको रूपमा विकास गर्नका लागि महत्वपूर्ण निर्णय र कार्यहरू यथाशीघ्र गर्नुपर्नेमा जोड दिएकी छिन्।
साथै डा. कार्कीले हालसालै भएको तेस्रो जनआन्दोलन (जेनजी क्रान्ति) को सन्दर्भ जोड्दै तत्कालीन सरकारको दमनका कारण भएको मानवीय र भौतिक क्षतिले देश ठूलो संकटको दोसाँधमा उभिएको बताएकी छिन्। उनले सो आन्दोलनपछि नेपाल राष्ट्र समग्रमा पहिलेकै अवस्थामा रहन नसक्ने र रहनु पनि नहुने भन्दै यसले सबै क्षेत्रमा आमूल सकारात्मक परिवर्तन को माग गरेको स्पष्ट पारेकी छिन्।
उनले रास्वपाले जेनजी मात्रै होइन, जेन अल्फा समेतका भावनालाई समावेश गरी राष्ट्रका सबै उमेर समूह, जातजाति, भाषाभाषी, भौगोलिक क्षेत्रका बासिन्दा एवं सबै वर्गका पीडा र भविष्यका अपेक्षालाई तत्कालै सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याएकी छिन्।
डा. कार्कीको धारणा छ कि देशको वर्तमान र भविष्यलाई साँच्चिकै नेतृत्व गर्न सक्ने राजनीतिक शक्ति निर्माण गर्नु आजको अपरिहार्य आवश्यकता हो, जसका लागि रास्वपाको रुपान्तरण अपरिहार्य छ। उनले पत्रमा लेखेकी छिन्, “पार्टीको नेतृत्व, सिद्धान्त, नीति, कार्यक्रम आदि सबै आयामको पुनरावलोकन, पुनःमूल्यांकन र पुनर्संरचना गरेर आजको समयले खोजेको मध्यममार्गी राजनैतिक शक्ति निर्माणको लागि अहिले नै उपयुक्त समय हो।”





























प्रतिक्रिया