काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले आफ्ना पार्टी अध्यक्षसमेत रहेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनमा सरकारले गोली चलाउन आदेश दिएको थिएन भन्नु अत्यन्त गम्भीर विषय बताएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता रिजालले तत्कालीन प्रधानमन्त्रीले ‘युवाहरू मारिएको गोली प्रहरीले चलाएको होइन’ भन्नुमा आशंका राख्दै वर्तमान सरकारले यस विषयमा छानबिन गर्न ढिलाइ गरेकोमा आक्रोश व्यक्त गरेका छन् ।
उनले भनेका छन्, ‘तत्कालीन प्रधानमन्त्रीले नै ‘गोली चलाउने सरकारको आदेश थिएन, युवाहरू मारिएको गोली प्रहरीले चलाएको होइन’ भन्नु अत्यन्त गम्भीर विषय हो । वर्तमान सरकारले हत्या, आगजनी र लुटपाटको छानविन गर्न मन्त्रिपरिषद्को पहिलो बैठकबाटै निर्णय गर्नुपर्नेमा किन हो, अलमल गरेको छ ।’
नेता रिजालले घटनाको निष्पक्ष छानविन र दोषीमाथि हदैसम्मको कारबाहीको माग गरेका छन्। उनले युवाको रगत, सार्वजनिक तथा निजी सम्पत्तिको क्षति र देशको प्रतिष्ठामा आँच आउने यस्ता घटनालाई ‘सत्ता-प्राप्तिको भर्याङ नबनाइयोस्’ भन्दै चेतावनी दिएका छन्। उनले देश र जनताको हितलाई केन्द्रमा राखेर तत्काल सत्य-तथ्य सार्वजनिक गर्न सरकारलाई दबाब दिएका छन्।































प्रतिक्रिया