काठमाडौँ । आगामी निर्वाचनबारे सरकार र निर्वाचन आयोगले दलहरूसँग छलफल र समन्वय नगरेको नेकपा माओबादी केन्द्रले बताएको छ।
पार्टी प्रवक्ता अग्नी सापकोटाले दलहरूसँग छलफल नै नगरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेकोमा आपत्ती जनाए ।
आयोगले गत सोमबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो। निर्वाचनबारे सरकार र आयोगले दलहरूसँग छलफल र समन्वय गर्नुपर्थ्यो, गरेन। यो विषयमा हाम्रो आपत्ति छ, सापकोटाले भने ।
सरकार र निर्वाचन आयोगले सकारात्मक पहल र समन्वयात्मक भूमिका नखेले पनि चुनावको वातावरण बनाउनका लागि माओवादी केन्द्रले आफ्नो तहबाट काम गरिरहेको भन्दै उनले तोकिएकै मितिमा निर्वाचन हुनुपर्नेमा जोड दिए ।
निर्वाचनका लागि धेरै राम्रो छलफल सरकारले पनि गरेको छैन। निर्वाचन आयोगले पनि गरेन। हामीले चाहिँ चुनावको वातावरण बनाउनुपर्छ, चुनाव गर्नुपर्छ, चुनाव नगरे देश थप अफ्ठ्यारोमा जान्छ भनेका छौं, उनले भने।
प्रवक्ता सापकोटाले सरकार र आयोग दुवै गम्भीर नदेखिएकाले राष्ट्रपति रामचन्द्र पौडेलले पहल गर्नुपर्ने धारणा व्यक्त गरे ।
विषम् परिस्थितिमा जिम्मेवारीको पनि कुरा हुन्छ। अघिपछि सामान्य स्थिति हो भने राष्ट्रपतिले धेरै पहल गर्नु वान्छनीय हुँदैन थियो। अहिले परिस्थिति विषम छ त्यसकारण उहाँले पहल गर्न पनि मिल्छ। गर्नुपर्छ भन्ने कुरा पनि हो। विशेष परिस्थितिमा हुने विशेष चुनाव भएकाले उहाँले पहल गर्दा बिग्रँदैन, उनले भने।
माओवादी केन्द्रले बुधबार कार्यकर्ताहरूलाई परिपत्र गर्दै मतदाता नामावलीमा नाम लेखाउन निर्देशन दिएको र मतदाता नामावलीमा नाम दर्ताका लागि पहल गर्न पनि कार्यकर्ता लाई आग्रह गरिसकेको सापकोटाले बताए ।































प्रतिक्रिया