काठमाडौँ । सिँहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णण गरेको छ । सरकारले त्रिभुवन विश्वविद्यालयको अचल सम्पत्ति खोजबिन आयोग २०८१ ले पेश गरेको प्रतिवेदन कार्यान्वयन गर्न शिक्षा, विज्ञान प्रविधि मन्त्रालयमा पठाउने निर्णय गरेको हो ।
बैठकले उक्त प्रतिवेदन कार्यान्वयनका लागि शिक्षा, विज्ञान प्रविधि मन्त्रालयमा पठाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले जानकारी दिए।
त्यस्तै भिजिट भिसामा विगतदेखि देखिएका समस्या समाधान गर्न गठित उच्चस्तरीय छानबिन समितिले पेश गरेको प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालयमा पठाउने निर्णय पनि आजको मन्त्रिपरिषद बैठकले गरेको छ।
बैठकले चार जना डिआइजीलाई एआइजी (प्रहरी अतिरिक्त महानिरीक्षक) मा बढुवा गरेको छ। सुशीलसिंह राठौर, उमाप्रसाद चर्तुवेदी, हिमालयकुमार श्रेष्ठ, डम्बरबहादुर विश्वकर्मालाई एआइजीमा बढुवा तथा पदस्थापन गर्ने निर्णय बैठकले गरेको छ।
यस्तै सरकारले इलाम जिल्लालाई तीन महिना अवधिका लागि विपद संकटग्रस्त घोषणा गरेको छ।
गत असोज १७ देखि १९ गतेसम्म परेको अविरल वर्षाले इलाम सबैभन्दा बढी प्रभावित भएको थियो। त्यहाँ ३७ जनाको मृत्यु भएको थियो। एक जना बेपत्ता छन्। इलाममा ४२ वर्षकै अधिक वर्षा भएको थियो।
यस्तै बैठकले सरकारले भूमि समस्या सम्बन्धी आयोग र त्यसअन्तर्गतका जिल्ला समितिहरू खारेज गरेको छ।





























प्रतिक्रिया