प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आमरण अनशनरत डा गोविन्द केसीको उपचारको व्यवस्था गरी जीवनरक्षा गर्न सार्वजनिक महत्वको प्रस्ताव संघीय संसद् सचिवालयमा दर्ता गराएको छ ।
काँग्रेसले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ७१ बमोजिम जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफल गर्न उक्त प्रस्ताव आज दर्ता गराएको काँग्रेसका मुख्य सचेतक बालकृष्ण खाँणले बताए । चिकित्सा शिक्षा र समग्र स्वास्थ्य सेवा क्षेत्रमा विद्यमान विसंगतिलाई समाप्त गरी स्वास्थ्य, शिक्षा र सेवालाई देशका सबै भागमा सर्वसुलभ एवं गुणस्तरीय बनाउन माग राख्दै डा गोविन्द केसीले निरन्तर सरकारको ध्यानाकर्षण गराउँदै आएको छ ।
यस सम्बन्धमा विगतमा भएका अध्ययन प्रतिवेदन र विभिन्न समयमा भएका सहमति र सम्झौताका आधारमा अघिल्लो सरकारले अध्यादेश जारी गरेको थियो । वर्तमान सरकारले उक्त अध्यादेशलाई प्रतिस्थापन गर्न संसद्मा प्रस्तुत गरेको उक्त विधेयक अध्यादेशको मूल भावना विपरीत रहेको हुँदा काँग्रेसको विरोधका कारण सचिवालयबाट फिर्ता लगिएको उनले बताए ।
उक्त अध्यादेशको भावनाअनुरुप विधेयक ल्याउनुपर्नेलगायतका माग राखी डा केसी पुनः अनशनमा बसेका हुन् । प्रस्तावमा डा गोविन्द केसीको उपचारको उचित व्यवस्था गरी जीवनरक्षा गर्न र चिकित्सा शिक्षासम्बन्धी माग सम्बोधन हुनेगरी सरकारले विगतमा जारी गरेको अध्यादेशअनुरुपको विधेयक प्रस्तुत गर्न माग गरिएको छ ।





























प्रतिक्रिया