आजको नेकपा सचिवालय बैठक कसरी सकियो ?

आजको नेकपा सचिवालय बैठक कसरी सकियो ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको राजनीतिक प्रतिवेदनको जवाफ दिन समय माग गरेका छन् । बुधबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले गत शुक्रबार कार्यकारी अध्यक्ष दाहालले प्रस्तुत गरेको प्रतिवेदनको जवाफ दिनका लागि आफूलाई केही समय लाग्ने बताएपछि सचिवालय बैठक १० दिनसम्मका लागि स्थगित गरिएको हो ।

गत कात्तिक २८ गते बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष दाहालले एकलौटी रुपमा राजनीतिक प्रतिवेदन पेश गरेका थिए । एकतर्फी रूपमा आएको प्रतिवेदनले पार्टी एकतालाई नै गम्भीर संकटमा पारेको भन्दै प्रधानमन्त्री निकटका नेता तथा कार्यकर्ताहरुले उक्त प्रतिवेदन तत्काल फिर्ता लिन सार्वजनिक रुपमा नै अपिल गर्दै आएका छन् । जसमध्ये सचिवालय सदस्य इश्वर पोखरेल, स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं नेकपाका प्रचार विभाग उपप्रमुख सुर्य थापा अग्रपंक्तिमा रहेका छन् ।

प्रचण्डको प्रतिवेदन फिर्ता नहुँदासम्म कुनै पनि बैठक गर्नुको औचित्य नभएको उनीहरुको भनाइ छ । सोही अनुसार मंगलबार बालुवाटारमा जम्मा भएका ओली निकटका नेताहरुले पनि सचिवालय बैठक तत्कालका लागि स्थगित गर्न सुझाव दिएका थिए । त्यस्तैले प्रधानमन्त्री ओली आजको बैठक सार्ने मनस्थितिमा रहेका थिए । तर सचिवालयका बहुमत (पाँच जना) सदस्यहरुले एकलौटी रुपमा सचिवालय बैठक राख्ने चेतावनी दिएका थिए । फलस्वरुपः दुबै पक्षको जितका लागि सचिवालय बैठक बसेजस्तो गरी तत्कालका लागि सचिवालय बैठक स्थगित गर्ने भित्रि सहमति भएसँगै प्रधानमन्त्री ओली अन्तिम घडीमा बैठकका लागि तयार भएका हुन् ।

त्यस्तै आजको बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक समेत बोलाएको छ । सचिवालय बैठकपछि पत्रकारहरूसँग बोल्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले मंसिर १८ मा स्थायी कमिटी बैठक बस्ने जानकारी दिए । साथै मंसिर १५ गतेका लागि तय भएको केन्द्रीय कमिटी बैठकलाई मंसिर २५ गतेसम्मका लागि सारिएको उनको भनाइ छ ।

त्यस्तैगरी आजको सचिवालय बैठकमा सचिवालय सदस्य, महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले सबै सचिवालय सदस्यले सामूहिक राजीनामा दिन प्रस्ताव गरेको स्रोतको दाबी छ । नेकपाभित्र अहिले जारी विवाद कायम रहे आफूहरू कम्युनिष्ट आन्दोलनका लागि कलकं हुने उनले बताएको स्रोतको दाबी छ । उक्त स्रोतको भनाइ अनुसार–‘नेकपाभित्र देखिएको विवाद समाधान गर्न हामी नौ जनाले नै सचिवालय सदस्यबाट राजीनामा दिऔं । उनले भनेका थिए । तर उनको प्रस्तावमा कुनै निर्णय भए वा नभएकोबारे उक्त स्रोतले केही खुलाएन । नेकपाको सचिवालय बैठक मंशिर १३ गतेसम्मका लागि स्थगित भएको छ ।

Logo