काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो राजनीतिक यात्रामा ठुलो मोड ल्याउँदै ‘माओवादी’ नाम र विचारधाराबाट दूरी कायम गर्ने सङ्केत प्रारम्भ गरेका छन् ।
आइतबार राति माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी सहित ८ दलबिच पार्टी एकता गर्ने सहमति पत्रमा हस्ताक्षर भयो । नयाँ पार्टीको नाम तय भई नसके पनि अव एकता पछि पार्टीको नाममा माओवादी शब्द रहने छैन । अब ८ वटा कम्युनिस्ट घटकहरूबाट बन्ने पार्टीको मार्ग निर्देशक सिद्धान्तः माक्र्सवाद–लेनिनवाद हुनेछ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नै नेतृत्व गरे पनि माओवादी शब्द रहने छैन ।
नेकपा मसालको नेतृत्व गर्दै प्रचण्डले २०४८ सालमा नेकपा एकता केन्द्र हुँदै २०५१ सालमा नेकपा माओवादी बनाए । प्रचण्डकै नेतृत्वमा २०५२ फागुन १ गते १० वर्ष लामो सशस्त्र विद्रोह भयो । लामो समय सम्म माओवादी भनेकै प्रचण्ड र प्रचण्ड भनेकै माओवादी भन्ने भाष्य स्थापित भएको थियो । त्यो युद्ध केवल हतियारको सङ्घर्ष मात्र नभएर माओवादी विचारधाराको युद्ध थियो र माओवाद र माओवादी विचारबाट प्रेरित थियो ।
२०६२ मङ्सिर ७ गते त्यतिबेलाका संसदवादी सात दलबिच १२ बुँदे सम्झौता भएपछि प्रचण्ड शान्तिपूर्ण राजनीतिमा आए । त्यही १२ बुँदे सहमतिको जगमा भएको २०६२, ६३ को जनआन्दोलनले परम्परागत राजतन्त्र ढलेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । त्यति बेलादेखि नै विचार धारात्मक द्वन्द्व सुरु भएको थियो ।
२०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा नेकपा माओवादी प्रत्यक्षतर्फ १२० र समानुपातिकमा १०० सिट जितेर सबैभन्दा ठुलो दल बनेको थियो । २०६५ पुसमा नारायणकाजी श्रेष्ठ नेतृत्वको नेकपा एकता केन्द्र मसालसँग एकता हुँदा तेस्रो पटक पार्टीको नाम परिवर्तन गरी एकीकृत नेकपा माओवादी राखिएको थियो । तर, पार्टी भित्रका अनेकन टुटफुट भए पनि माओवादी नछोडेका प्रचण्डले २०७५ साल जेठ ३ गते तत्कालीन नेकपा एमालेसँग एकतापछि पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राखेको वेला भने माओवादी शब्द र विचार धारा परिमार्जन सहित अगाडि बढेका थिए ।
एमाले र माओवादीबाट बनेको नेकपा लामो समय जान सकेन र अन्तत नेकपा ऋषिराम कट्टेलको नाममा आयोगमा दर्ता कायम भएको भन्दै सर्वोच्च अदालतले २०७७ साल फागुन २३ गते केपी ओली र प्रचण्डको नाममा रहेको नेकपा विघटन गरिदिए पछि पुनः माओवादी केन्द्र पुनर्गठन गरेका प्रचण्डले त्यसको पाँच वर्षमै फेरि पार्टीको ‘माओवादी’ नाम हटाउन तयार भएका हुन् ।
वाम दलहरूबिचको सहकार्य सहज हुन सक्ने र देशमा फेरी वाम एकता आवश्यक रहेको ठहर गर्दै ‘माओवादी’ नाम हटाउँदा अन्य वाम दलहरूबिचको सहकार्य सहज हुने निष्कर्ष भन्दै निरन्तरतामा क्रमभङ्ग छलाङ र विपत्ति रुचाउने प्रचण्डले आफैंले जन्माएको माओवाद तीन दशकमा आफैंले विघटन गरेका छन् ।
माओवादी आन्दोलनले आफ्नो ऐतिहासिक भूमिका पूरा गरिसकेको भन्दै प्रचण्डले सोमबार काठमाडौँमा आयोजित पार्टी सचिवालय बैठकमा भने, “हामीले जनयुद्ध, शान्ति प्रक्रिया र संविधान निर्माणको जिम्मेवारी पूरा गरिसकेका छौँ। अब नयाँ युगको राजनीतितर्फ अघि बढ्ने समय आएको छ।” नाममा अलमल नगरौँ भन्दै बैठकको समापन गरेका थिए । यो सँगै माओवादी केन्द्रले आफ्नो नाम र विचार धारात्मक आधार परिवर्तन गर्ने प्रस्ट आधार देखाएको छ ।
यो एकता प्रक्रियामा माओवादलाई पार्टीको मार्गदर्शक सिद्धान्तबाट हटाएर माक्र्सवाद र लेनिनवाद मात्र राख्ने सहमति भए पछि यसले पार्टीको ‘माओवादी’ पहिचान मेटिएको भन्दै पार्टीभित्र उपमहासचिव जनार्दन शर्माले असन्तुष्टि जनाउँदै एकतामा सामेल हुन नसक्ने र माओवादी फेरि उठाउने सङ्केत गरेका छन् ।
माओवादी स्थापना कालदेखि प्रचण्डसँगै सहयात्रा गरेका डा. बाबुराम भट्टराईले २०७२ साल भदौ ५ गत पत्रकार सम्मेलन गर्दै हालको माओवादी केन्द्र, त्यति बेला नेकपा–माओवादी र सबै जिम्मेवारीबाट राजीनामा घोषणा गरिसकेका छन भने मोहन वैद्य ‘किरण’ र नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतका नेताहरूले मूल पार्टी एकीकृत नेकपा माओवादी छोडेर माओवादी नामकै नयाँ पार्टीहरू चलाई रहेका छन् ।
एक दशक लामो सशस्त्र सङ्घर्ष तिन दशक लामो विगत भएको गणतन्त्र स्थापनामा ऐतिहासिक योगदानको प्रतीक बनेको ‘माओवादी’ नाम अब क्रमशः राजनीतिक इतिहासको पानामा समेटिने भएको छ ।































प्रतिक्रिया