काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको जारी केन्द्रीय समिति बैठकमा आगामी पुस १६ गतेदेखि १९ गतेसम्म नियमित महाधिवेशन गर्ने प्रस्ताव औपचारिक रूपमा पेस गरेका छन्। पार्टीलाई नयाँ पुस्ताको विश्वास जित्ने दिशामा लैजान र ‘निरन्तरताभित्रको नवजीवन’ खोज्न तत्काल महाधिवेशन आवश्यक रहेको उनको ठहर छ।
जारी केन्द्रीय समिति बैठकमा मंगलबार महाधिवेशन कार्यतालिकासहितको प्रस्ताव गर्दै महामन्त्री थापाले ‘नवयुवाहरूको परिवर्तनका प्रतिको उत्कट आवाजलाई अपमानित, दुत्कार्नु वा उपेक्षा गर्नु’ पार्टीका लागि घातक हुने भन्दै उनीहरूको भावनाको कदर गर्नुपर्नेमा जोड दिएका छन्। उनले हालैको आन्दोलनले राष्ट्रिय मनोभावना बदलिएको प्रमाणित गरेको भन्दै कांग्रेसले जनतासँगको सम्पर्क टुटेको स्वीकार गरी ‘स्मार्ट संरचनाहरू’ मार्फत दोहोरो र प्रत्यक्ष सम्पर्क स्थापित गर्नुपर्ने बताए।
थापाले महाधिवेशन नगर्नु भनेको परिवर्तनको पक्षमा मुखरित भएको आवाजलाई हेपेको ठहरिने दाबी गर्दै “जहाँ इच्छा त्यहाँ उपाय” भन्ने भनाइलाई चरितार्थ गर्न दुई महिनाभित्रै महाधिवेशन गर्न सम्भव रहेको उदाहरणसमेत पेस गरे।
‘नवयुवाहरूको परिवर्तनका प्रतिको उत्कट आवाजलाई अपमानित गर्नु, दुत्कार्नु, उपेक्षा गर्नु भनेको हामी स्वयं उनीहरुबाट तिरस्कृत हुनु हो । सम्मान भनेको पारस्परिक वा दोहोरो हुन्छ, हामीले उनीहरूको भावनाको कदर गयौं भने मात्रै उनीहरूले हामीलाई विश्वास गर्छन्। पार्टीको ध्येय आजको मितिमा त्यो नयाँ पुस्ताको विश्वास आर्जन गर्ने पट्टि लक्षित हुनुपर्छ ।’ उनले भनेका छन् ।
महामन्त्री थापाले पार्टीको छवि विश्वसनीय ढंगले बदल्न सामयिक सुधार र नयाँ सुरुवात अनिवार्य रहेको औँल्याएका छन्।
परिवर्तनको कुरा गर्दा पार्टीका मूल मूल्यहरूलाई कहिल्यै नबिर्सन आग्रह गर्दै थापाले कांग्रेसलाई ‘केवल एउटा पार्टी नभई विचारको आन्दोलन’को रूपमा चित्रण गरे। उनले बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगायतका नेताहरूले स्थापित गरेका व्यक्तिगत स्वतन्त्रता, कानूनी शासन, र अवसरको समानता जस्ता मूल्यहरू कालातीत रहेको र ती मूल्यहरूलाई बदल्नुको सट्टा पुनर्जीवित गर्नु वर्तमान पुस्ताको जिम्मेवारी भएको स्पष्ट पारे।































प्रतिक्रिया