काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपाल र भारतको समकक्षी सशस्त्र सीमा बल ९एसएसबी० बीच हुने नवौँ समन्वयात्मक बैठकमा भाग लिन सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गरेका छन्।
महानिरीक्षक अर्यालको भ्रमण टोलीमा सीमा सुरक्षा विभाग प्रमुख गणेशबहादुर ठाडा मगर, प्रहरी नायब महानिरीक्षक दीपक रेग्मी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक रामप्रसाद दास, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक किरण बस्नेत, गृह र परराष्ट्र मन्त्रालयका प्रतिनिधिलगायत सहभागी रहेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
सो बैठक यही कात्तिक २६ देखि २८ गतेसम्म भारतको नयाँ दिल्लीमा हुँदैछ । बैठकमा सीमा अपराध नियन्त्रण, लागुऔषध ओसारपसार नियन्त्रण, अवैध चोरीनिकासी तथा पैठारी नियन्त्रण, सूचना आदानप्रदान र सीमा सुरक्षालाई थप सुरक्षित बनाउन समन्वय र सहकार्य गर्ने विषयमा दुई सुरक्षा निकायबीच छलफल हुनेछ ।
नेपाल–भारतबीच नियमित रूपमा हुँदै आएको समन्वयात्मक बैठकले दुवै देशको सीमा क्षेत्रमा शान्ति, सुरक्षा सुदृढीकरण, आपसी समन्वय र सहकार्यमा सहयोग पुग्ने विश्वास गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको अनुपस्थितिमा निमित्त महानिरीक्षकको जिम्मेवारी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले सम्हाल्ने भएका सशस्त्र प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया