काठमाडौँ । तत्कालीन नेकपा (माओवादी केन्द्र) को प्रवास संगठनमा महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका १० जना नेताहरूले नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा नरहेको घोषणा गरेका छन् । एकताको नाममा वृद्धाश्रम खोलिएको र भ्रष्टाचारको मुद्दा खेपिरहेका अभियुक्तहरूलाई सारथि बनाएर जग हँसाउने काम गरेको भन्दै उनीहरुले नेपाली कम्युनिष्ट पार्टीको कुनैपनी संगठनमा नभएको घोषणा गरेका हुन् ।
बुधबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गरी पार्टीबाट सम्बन्धविच्छेदको घोषणा गर्दै पार्टी नेतृत्व व्यक्तिवादी, सत्ताकेन्द्रित र विचलित भएको आरोप उनीहरुले आरोप लगाएका छन् ।भारत प्रवास इन्चार्ज लक्ष्मण पन्त र एसिया प्रवास संगठन इन्चार्ज ओम शर्मासहितका नेताहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई सत्ताको केन्द्रमा राखिराख्न मात्र एकताको प्रपञ्च रचेको आरोप लगाएका छन्।
उनीहरुले विभिन्न भ्रष्टाचार मुद्दाले अनुहारमा कालो पोतिएका र इमानको राजनीतिले खुट्टो टेक्न नसकेकालाई बटुलेर युद्दकालदेखी पार्टीको नीति विधि र विधानमा रहेर निस्वार्थ योगदान गर्नेहरुलाई जोगाउन नसकेको आरोप लगाएका छन् । यो शुरुवात मात्रै हो नैतिकता र सिदान्तनै भूलेर अरुसँग लम्पसार पर्नेहरुको झुण्डमा युद्धमा होमिएकाहरु नरहने समेत चेतावनी दिएका छन् । बैध विप्लवजीहरु त्यसै नबाहिरिएको र नेतृत्वकै कारण टाडिन पुगेको एक नेताले बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, हामीले पार्टीभित्र लोकतन्त्र, पुनर्गठन, नातावादको अन्त्य र आर्थिक पारदर्शिताको मुद्दा उठाउँदै आए पनि त्यसलाई सम्बोधन गर्नुको साटो आफू केन्द्रित पुनर्गठनका नाममा नेपाली कम्युनिस्ट पार्टी गठन गरियो। उनीहरूले हालैको एकतालाई राजनीतिक रूपमा अप्रासंगिक भइसकेका केही पात्रहरूलाई जोडजाम गरेर फेरि एकपटक आफूलाई कुर्चीमा पुऱ्याउने भित्री उद्देश्यबाट प्रेरित रहेको दाबी गरेका छन्।
एकताको नाममा वृद्धाश्रम खोलिएको छ। भ्रष्टाचारको मुद्दा खेपिरहेका अभियुक्तहरूलाई सारथि बनाएर जग हँसाउने काम भइरहेको छ, विज्ञप्तिमा थप उल्लेख छ।
विज्ञप्तिमा पार्टी नेतृत्वमाथि आर्थिक अपारदर्शिता, परिवारवाद र कम्युनिस्ट आचरणविपरीतको भड्किलो जीवनशैली अपनाएको जस्ता गम्भीर आरोपहरू पनि लगाइएको छ। पार्टी स्थापनाकालदेखि आजसम्म आयव्ययको कुनै विवरण प्रस्तुत गरिएको छैन, विज्ञप्तिमा भनिएको छ, नेतृत्वको जीवनशैली कम्युनिस्ट आचरण विपरीत अत्यन्त भड्किलो छ, जसका कारण कम्युनिष्टहरूको नैतिक धरातल कमजोर बन्न पुगेको छ। नेताहरूले पार्टीको विधानमा २९९ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था भए पनि ७०० भन्दा बढीलाई मनमौजी तरिकाले नियुक्ति गरिएको र हाल ३००० भन्दा बढीको कुम्भ मेला गर्ने समुह बनाउने अराजकता बढेको बताएका छन्।
पार्टी परित्यागको घोषणा गर्नेहरूले अब प्रगतिशील राष्ट्रिय अभियान, नेपालमा आबद्ध भएर अगाडि बढ्ने जनाएका छन्। उनीहरूले विगत दुई दशकदेखि सत्ताको शीर्षस्थानमा रहेर मुलुकलाई दिशाहीन बनाउने पुराना नेताहरूप्रतिको मोह त्यागी नयाँ दृष्टि र कार्यक्रमसहितको जनमुखी वामपन्थी आन्दोलनमा सहभागी हुन अन्य नेता कार्यकर्तालाई आह्वानसमेत गरेका छन्।
सम्बन्धविच्छेदको घोषणा गर्नेहरू अन्तरमहादेशीय कोषाध्यक्ष सागर पोखरेल, नेपाली जनप्रगतिशील मञ्च बेल्जियमका प्रवक्ता दिल निशानी मगर पनि छन् । यस्तै रामहरि पुडासैनी, धर्मराज खतिवडा, ईश्वर पौडेल, बाबुराम सापकोटा र इन्जिनियर प्रतीक पोखरेलले पनि पार्टी छाडेका छन्। उनीहरू माओवादी केन्द्रको प्रवासअन्तर्गत भारत, एसिया, युरोप, अष्ट्रेलियालगायतका क्षेत्रमा विभिन्न जिम्मेवारीमा रहेका थिए ।





























प्रतिक्रिया