काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी विचारबाट झरिसकेका र पतन भइसकेकाहरुले नेपाली कम्युनिष्ट पार्टीका नाममा एकता गरेको टिप्पणी गरेका छन् ।
शुक्रबार नेसनल भोलेन्टियर फोर्सको घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वामपन्थीबाट र वामपन्थी विचारबाट पतन भइसकेकालाई एमालेमा कुनै स्थान नरहेको बताएका हुन् ।
उनले भने,‘पार्टी सबभन्दा मजबुद बनाउन त्यति सजिलो छैन् । केही मान्छेहरु छन बाम एकता भनेर घाँटी बसुन्जेल कराएका छन् । हामी सँधै त्यसरी वाम एकता गर्दैनौं । परेका बेला जाग्छौं । वामपन्थीबाट झरिसकेका वामपन्थी विचारबाट पतन भइसकेका, उद्देश्यबाट र आचरणबाट कुहिसकेकालाई एमालेमा कुनै स्थान छैन ।’
त्यस्तै, उनले भोलेन्टियर फोर्स राष्ट्रिय हितका लागि लोकतन्त्र र संविधानको रक्षा लागि गठन भएको बताए । नेकपा एमालेसँग असहमति राख्नेका लागि पनि जिउधनको रक्षा गर्ने काम र अधिकारको लागि फोर्स गठन भएको भन्दै यसको गठन र मजबुतीसँग कोही पनि तर्सिन नपर्ने उनको भनाई छ ।
उनले भने, ‘याे फोर्स राष्ट्रिय हितका लागि, लोकतन्त्र र संविधानको रक्षा लागि गठन भएको हो । नेकपा एमालेसँग अथवा संगठनसँग असहमति गर्नेका लागि पनि जिउधनको रक्षा र अधिकारको लागि गठन भएको हो ।’
अध्यक्ष ओलीले घर फर्क अभियानमार्फत नेकपा एसबाट एमालेमा फर्कनेहरुलाई महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको जानकारी गराए । ‘हामीले अस्ति भर्खरै नेकपा एकिकृत समाजवादी बनाउन जानुभएकाहरु एमालेमा फर्केर आउनु भएको छ । ती मध्ये नेताहरुलाई हामीले महाधिवेशन प्रतिनिधि हुने विशेष निर्णय गरेको छौं ।’
नेताहरूलाई युवा भेलामा जान नदिएर आक्रमणकारी र आतङ्क मच्चाउने काम अहिलेसम्म जारी रहेको बताउँदै अध्यक्ष ओलीले त्यस्ता क्रियाकलाप तत्काल रोक्न सरकारलाई आग्रह पनि गरे ।





























प्रतिक्रिया