काठमाडौं। नेसपा (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियार समूहले एकता घोषणा गरेका छन् ।
आइतबार राजधानीको राष्ट्रिय सभा गृहमा आयोजित एकता घोषणा सभाबाट प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) घोषणा गरेका हुन् । यो एकताले वामलोकतान्त्रिक शक्तिहरूसंगै अन्य शक्तिहरुलाई पनि एउटै छातामुनि ल्याउने लक्ष्य राखेको छ ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वअर्थमन्त्री जनार्दन शर्मा र पुर्व रास्वपाका नेता सन्तोष परियार लगायतको उपस्थिति रहेको थियो। पार्टीको चुनाव चिन्ह नेसपा (नयाँ शक्ति) ले प्रयोग गर्दै आएको आँखा रहने र नेतृत्व ७ सदस्यीय अध्यक्ष मण्डल बाट सञ्चालन हुने बताइएको छ ।
भट्टराई र शर्मा लगायतका वरिष्ठ नेताहरू पदाधिकारी तहमा नरहे पनि संरक्षक वा सल्लाहकार भूमिकामा रहने अपेक्षा गरिएको छ । नेसपा संयोजक दुर्गा सोव, प्रगतिशील राष्ट्रिय अभियानका सुदन किराती र परियारबीच गत मङ्सिर ७ गते नै ५ बुँदे सहमति भएको थियो, जसअनुसार यो एकता भएको हो।
प्रलोपाका नेता सन्तोष परियारले सभालाई सम्बोधन गर्दै, ’राष्ट्र गम्भीर संकटको सामना गरिरहेको छ । सबै प्रगतिशील, लोकतान्त्रिक र वामपन्थी शक्तिहरू मिलेर मात्र यसलाई समाधान गर्न सकिन्छ । जेनजेड पुस्ता र देशभक्तहरूलाई यो अभियानमा सामेल हुन आह्वान गर्दछु,’ भने।





























प्रतिक्रिया