महोत्तरी

न भवन छ, न विद्यार्थी बस्ने डेस्क बेन्च नै , हिउँद होस् या गर्मी, बोरा ओच्छ्याएर पढ्न बस्छन् विद्यार्थीहरु । "/>

शिक्षामन्त्रीको क्षेत्रमा विद्यालय यस्तो, विद्यार्थी र गाईभैंसि सँगसँगै !

शिक्षामन्त्रीको क्षेत्रमा विद्यालय यस्तो, विद्यार्थी र गाईभैंसि सँगसँगै !


महोत्तरी

न भवन छ, न विद्यार्थी बस्ने डेस्क बेन्च नै , हिउँद होस् या गर्मी, बोरा ओच्छ्याएर पढ्न बस्छन् विद्यार्थीहरु । यो दृश्य शिशु देखि कक्षा दुई सम्म पढाइ हुने महोत्तरी गौशाला नगरपालिका—६ फूलकाहास्थित दलित बस्तीमा रहेको जनता आधारभूत विद्यालयको हो ।

यो विद्यालय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल निर्वाचित भएको क्षेत्रमा पर्छ । यस्तै दुई पटक संविधानसभा सदस्य र अहिले प्रदेश सांसदमा निर्वाचित माओवादी केन्द्रका नेता भरतप्रसाद साहको पनि गाउँ हो यो । प्रतिनिधिसभा सांसद दिलकुमारी साहको गाउँ पनि यही हो । गाईभैंसी, बाख्रा बाँध्ने गोठ नजिकै एकै ठाउँमा बसेर कखरा पढ्छन् विद्यार्थी । झट्ट हेर्दा गाईभैंसीको गोठ हो कि विद्यालय खुुट्ट्याउनै मुस्किल पर्छ ।

फूलकाहाको दलित मुसहर बस्तीमा ०६६ सालमा जनता आधारभूत विद्यालय खोलिएको हो । मुसहर बस्तीको सामुदायिक भवनलाई देखाएर विद्यालय दर्ता गरिएको थियो ।
विद्यालयको नाममा एक धुर पनि जग्गा छैन । कक्षाकोठा पनि छैन । भौतिक संरचना बिनै जिल्ला शिक्षा कार्यालय महोत्तरीले विद्यालय सञ्चालन अनुमति दियो ।

विद्यालय खुलेको ९ वर्ष बितेको छ । एउटा टेबल, दुई थान कुर्सी र एउटा ब्ल्याक बोर्ड मात्रै छ, विद्यालयको सम्पत्ति । ब्ल्याकबोर्ड पनि फुटेर प्लाई उक्किसकेको छ । मुसहर बस्तीको बीचमा गाउँलेको सामूहिक घरमा बालबालिका राखेर पढाइन्छ । शिशु, एक र दुई कक्षाको पढाइ एकै ठाउँमा हुन्छ । दलानमा मुस्किलले ३० जना पढ्न सक्छन् । सबै विद्यार्थी आएका दिन बाहिरै बसेर पढ्नु पर्ने बाध्यता छ । दलान अगाडि गाईवस्तुको गोठ छ । त्यसकै नजिक बालबालिका राखेर पढाइन्छ । ‘दलानको छानो जीर्ण छ । छानोको टायल फुटेकाले छ्याङ आकाश देखिन्छ । बोरा ओछ्याएर १२ महिनै भुइँमा बसेर पढ्नुपर्छ । बर्खामा पानी चुहिन्छ । गर्मीमा त दुःख(सुख पढ्छन् तर जाडोमा शीतलहरले पढ्न सक्दैनन् बालबालिका’, शिक्षिका सीतादेवी झाले भनिन् । दलानको छानोबाट पानी चुहिएर विद्यार्थीको कापीकिताब भिज्ने गरेको उनले बताइन् ।

गाउँको विवाह, मुडन, मरनहरन भए दलानकै छेउको गोठ अगाडि भोजभतेर हुन्छ । बरातीको बास पनि दलानमै हुन्छ । भोज पकाउने भाँडाकुँडा थन्क्याउने ठाउँ पनि सामाजिक भवनै हो । ६ महिना मुसहर बस्तीका बालबालिका विद्यालय भवन नहुँदा पढ्न पाउँदैनन् । ६ महिनामा विद्यालयमा पढाइ भए पनि नियमित आउने बानी उनीहरूको छैन । ‘पुस्तौं देखि शिक्षाबाट वञ्चित ५५ घर मुसहर समुदायका बालबालिकालाई पढाउन विद्यालय खोलियो तर उनीहरूको गाउँमा विद्यालय खुल्दा पनि लेखपढ गर्न पाएका छैनन्’, बस्तीका गौरावत्ती सदाले भनिन् ।
अन्नपूर्णबाट

Logo