निकट नेताहरुको विद्रोहले ओलीलाई धक्का, फाइदा उठाउला त पोखरेल प्यानलले ?

निकट नेताहरुको विद्रोहले ओलीलाई धक्का, फाइदा उठाउला त पोखरेल प्यानलले ?

केन्द्रबिन्दु
30
Shares

एमाले महाधिवेशनमा ओली प्यानलमा नेताहरूको विद्रोह, धमाधम साथ छाड्दै, प्रदीप ज्ञवाली रुँदै फर्किए, ओलीलाई पेलेको संज्ञा दिने कृष्णगोपाल श्रेष्ठ पनि आउट

काठमाडौं । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा स्थान नपाएका केही खास नेताहरूले साथ छाडेपछि पार्टीभित्र ठूलो खैलाबैला मच्चिएको छ। ओलीले अन्तिम समयमा घोषणा गरेको एकलौटी प्यानलमा नअटाएका र असन्तुष्ट रहेका नेताहरू कोही स्वतन्त्र त कोही अर्कै प्यानलबाट चुनावी मैदानमा उत्रँदा अध्यक्ष ओलीलाई ठूलो धक्का पुगेको छ।

ओलीका प्रिय पात्र मानिएका प्रदीप ज्ञवाली, राजेन्द्र गौतमदेखि युवा नेता सुहाङ नेम्वाङसम्मले ओलीको सूचीमा नाम नपरेपछि असन्तुष्टि व्यक्त गर्दै स्वतन्त्र उम्मेद्वारी दिएका छन् । महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा भएको थियो । आज मनोनयन दर्ता सम्पन्न भएको छ भने पुस १ गते मतदान हुने तालिका छ । अध्यक्ष पदमा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच कडा प्रतिस्पर्धा हुने निश्चित छ ।

कुन-कुन नेताले छाडे ओलीको साथ ?

सुरुमा चर्चा गरौं, प्रदीप ज्ञवालीको । ओलीलाई साथ दिँदै आएका उपमहासचिव ज्ञवालीले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिए । उनी महासचिवका आकांक्षी थिए । तर, ओलीले महासचिवमा शंकर पोखरेललाई नै दोहोर्याउन चाहेपछि ज्ञवाली असन्तुष्ट बनेका हुन् । संस्थापन पक्षले ज्ञवालीलाई उपाध्यक्षमा समेट्न खोजेको थियो ।

ज्ञवालीलाई मनाउन नेताहरू विष्णु पौडेल र पृथ्वीसुब्बा गुरूङ मात्र होइन, अध्यक्ष केपी शर्मा ओली पनि लागेका थिए। नेता पद्मा अर्यालका अनुसार ज्ञवाली र अध्यक्षबीच संवाद पनि भएको थियो। तर, ज्ञवालीले महासचिवबाहेकको पदाधिकारीमा उम्मेदवारी नदिने अडान लिए । शंकर पोखरेलसँग व्यक्तिगत मतभेदभन्दा पनि पार्टीको भाइटल पोस्ट महासचिवमा एउटै व्यक्ति दोहोरिन हुँदैन भन्ने ज्ञवालीको धारणा थियो । आफ्नो अडानमा कायम रहँदै उनले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएपछि ओलीलाई झट्का लागेको छ । उनी उपाध्यक्ष पदमा नाम समावेश भए पनि महाधिवेशन स्थलबाट रुँदै बाहिरिएको सञ्चारमाध्यममा खबर छापिएका थिए । एक नेताका अनुसार, ज्ञवालीले ‘महासचिवभन्दा माथि वा तल लड्दिनँ’ भनेर ओलीलाई जानकारी पनि गराएका थिए । तर उनको कुरा सुनुवाइ भएन ।

महाधिवेशनमा ओलीका पुराना सहयोगीहरूले पनि साथ छाडेका छन्, जसले ओलीको प्यानललाई कमजोर बनाएको छ । कुनै बेला ओलीलाई ‘फुटबलको पेले’ भन्दै प्रशंसा गर्ने कृष्णगोपाल श्रेष्ठले ओलीको साथ छाडेका छन्। ओलीको प्यानलमा सचिव पदमा नाम नपरेपछि उनी ईश्वर पोखरेल समूहमा जोडिएका छन् । पोखरेल पक्षबाट उनी सचिव पदमा उम्मेद्वार बनेका हुन् । श्रेष्ठले ओलीबाट ‘पीडित’ भएको बताउँदै पार्टीको आन्तरिक लोकतन्त्रको पक्ष लिएका छन् ।

दशौं महाधिवेशनमा स्थायी कमिटी सदस्य बनेका उनी अब पोखरेलको प्यानलको महत्त्वपूर्ण हिस्सा बनेका छन् । श्रेष्ठ उपत्यकाका लोकप्रिय नेता पनि हुन्। २०४७ सालयता चार पटक संसद निर्वाचन जितेका उनी छैठौं महाधिवेशनदेखि एमालेका केन्द्रीय सदस्य रहँदै आएका छन्। उनी पटक पटक मन्त्रीसमेत भइसकेका छन् ।

यसैगरी पार्टी प्रचार विभाग प्रमुख तथा ओलीका प्रिय पात्र मानिने राजेन्द्र गौतमलाई पनि ओलीको सूचीमा उपमहासचिव पदमा स्थान दिइएन । यसअघि ओलीसमक्ष उपमहासचिवको आकांक्षा व्यक्त गरेपनि नाम नपरेपछि उनी असन्तुष्ट बनेका छन् । स्रोतका अनुसार, गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेद्वारी दिएका छन् । महाधिवेशनमा उनको भूमिका महत्त्वपूर्ण मानिन्छ, किनकी उनी पार्टीको प्रचार संयोजनकर्ता हुन् ।

यसैगरी युवा नेता सुहाङ नेम्वाङले पनि ओलीको केन्द्रीय सदस्य सूचीमा नाम नपरेपछि स्वतन्त्र उम्मेद्वारी दिएका छन्। सुवास नेम्वाङको निधन भएपछि २०८१ मा इलाम २ रिक्त रह्यो। त्यो ठाउँमा उपचुनावका लागि एमालेले छोरा सुहाङ नेम्वाङलाई नै उम्मेदवार बनायो। र, उनले जिते पनि। संसद्मा आएर पनि उनले लोकप्रियता कमाए। आफ्ना बुवाजस्तै मृदुभाषी उनी सबैका प्रिय बने। तर ओली समूहमा परेनन् । उनी युवा शाखाबाट सक्रिय छन् र पार्टीको युवा नेतृत्व विस्तारमा जोड दिन्छन् । नेम्वाङको उम्मेद्वारीले युवा मतदातालाई प्रभावित पार्न सक्छ ।

ओलीनिकट मानिएका रघुजी पन्तलाई पनि उपाध्यक्ष पदमा ओलीको सूचीमा स्थान दिइएन। यसपछि उनले ओलीको साथ छाडेर ईश्वर पोखरेल समूहमा जोडिएका छन्। पोखरेल पक्षबाट उपाध्यक्षमा उम्मेद्वारी दिँदै पन्तले ‘दुवै पक्षको आग्रहमा’ उम्मेद्वारी दिएको बताएका छन् । पन्त पूर्वशिक्षामन्त्री पनि हुन् र पार्टीको बागमती प्रदेश नेतृत्वमा सक्रिय छन् । यसअघि नवौँ महाधिवेशनमा उपमहासचिव हारेका पन्त पछिल्लो समय ओलीनिकट मानिन्थे । तर उनले ओली प्यानलमा स्थान पाएनन् ।

विगतमा ओलीको अनन्य सहयोगी मानिने गोकुल बास्कोटाले पनि पोखरेल प्यानलबाट सचिवमा उम्मेदवारी दिएका छन् । यद्यपि, उनी ओलीसँग टाढिएको धेरै समय भइसकेको थियो । उनी विद्या भण्डारीको कित्तामा देखिन्थे । योपटक उनी खुलेरै ओली प्यानलविरुद्ध उठ्ने भएका हुन् ।

अर्का ओलीनिटक नेता अग्नी खरेल पनि संस्थापन पक्षको प्यानलबाट बाहिरिएिका छन् । उनलाई ओली प्यानलमा केन्द्रीय सदस्यमा राखिएको थियो । तर, उनले त्यसमा चित्त नबुझाएर सचिवमा ‘स्वतन्त्र’ उम्मेदवारी दिएका छन् ।

संस्थापनकै प्यानलमा केन्द्रीय सदस्यमा राखिएका लालबाबु पण्डितले पनि चित्त बुझाएनन् । उनले सचिवमा उम्मेदवारी दिएका छन् । अघिल्लो १० औं महाधिवेशनमा पनि पदाधिकारीमा नपरेपछि उनी असन्तुष्ट भएर निस्किएका थिए । यस्तै, ओली प्यानलमा केन्द्रीय सदस्य राखिएका भीम आचार्यले पनि विद्रोह गरेका छन् । उनले प्यानलबाट निस्किएर उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् । यस्ता घटनाक्रमले ओली समूह एकढिक्का नरहेको देखाउँछ। अध्यक्ष ओलीले ११ औं महाधिवेशन उद्घाटन सत्र सकिइसकेपछि पनि केन्द्रीय समिति बैठक बोलाएर पुरानै विधान ब्युँत्याएका थिए। विधान संशोधनको प्रस्ताव फ्लोरबाट गरेर पुरानै विधान ब्युँत्याइएको थियो।

नेताहरू व्यवस्थापन गर्न पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाइए पनि ओली समूहले आफ्नो समूहलाई एकढिक्का राख्न सकेन ।

यसले पनि महाधिवेशनमा अध्यक्ष पदमा ओली र ईश्वर पोखरेलबीच कडा प्रतिस्पर्धा हुने निश्चित भएको छ । पोखरेललाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको समर्थन रहेको चर्चा छ । पद नपाएका नेताहरूको यो असन्तुष्टिले पोखरेलको प्यानललाई बलियो बनाउने विश्लेषण गरिएको छ ।

Logo