एमालेमा सहमतिको प्रयास असफल, नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन

एमालेमा सहमतिको प्रयास असफल, नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन

केन्द्रबिन्दु
45
Shares

काठमाडौँ । नेकपा (एमाले) को ११औँ महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ। अन्तिम समयसम्म पनि सर्वसम्मतिको वातावरण नबनेपछि पार्टी नेतृत्व चयन प्रत्यक्ष मतदान प्रक्रियामा प्रवेश गरेको हो।

केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान प्रक्रिया दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ। भृकुटीमण्डपमा हुने निर्वाचनमा महाधिवेशन प्रतिनिधिहरूले विद्युतीय भोटिङ मेसिन मार्फत मत खसाल्ने व्यवस्था गरिएको छ ।

अध्यक्ष पदमै सहमति जुट्न नसकेपछि नेतृत्व प्रतिस्पर्धा थप व्यापक बनेको छ। अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच सीधा प्रतिस्पर्धा हुँदै गर्दा अन्य पदहरूमा पनि दुवै पक्षका प्यानलबाट उम्मेदवारी दर्ता भएको छ । यसले महाधिवेशनलाई केवल औपचारिक प्रक्रिया होइन, पार्टीभित्रको शक्ति सन्तुलनको निर्णायक परीक्षणका रूपमा परिणत गरेको छ ।

केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार निर्वाचनका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिनेछ । कुल २ हजार २ सय ६३ महाधिवेशन प्रतिनिधि मतदान प्रक्रियामा सहभागी हुनेछन्।

राजनीतिक विश्लेषकहरूका अनुसार एमालेको यो निर्वाचन केवल नेतृत्व चयनमा सीमित छैन, बरु पार्टीभित्र विचार, पुस्तान्तरण र भविष्यको राजनीतिक दिशाबारे स्पष्ट सन्देश दिने क्षणका रूपमा हेरिएको छ । निर्वाचनको परिणामले आगामी दिनमा एमालेको सांगठनिक संरचना, आन्तरिक शक्ति समीकरण र राष्ट्रिय राजनीतिमा पार्टीको भूमिकालाई नयाँ ढङ्गले परिभाषित गर्ने अपेक्षा गरिएको छ ।

Skip This
Skip This
Logo