काठमाडौँ । नेकपा (एमाले) को ११औँ महाधिवेशन सहमतिको प्रयास विफल भएसँगै खुला शक्ति संघर्षको चरणमा प्रवेश गरेको छ। अध्यक्ष पदमा केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आमनेसामने उत्रिएपछि पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन सार्वजनिक रूपमै परीक्षणमा परेको छ।
सोमबार दिनभरि चलेको अन्तिम समन्वय प्रयास असफल भएपछि संस्थापन पक्ष र इतर पक्षबीच कडा राजनीतिक टक्कर हुने संकेत देखिएको हो। अध्यक्ष ओली आफ्नै ‘कोर टिम’लाई समेट्न असफल हुँदा पोखरेल नेतृत्वको इतर समूह उत्साहित देखिएको छ। यसले निर्वाचनलाई केवल पदको प्रतिस्पर्धा होइन, पार्टी सञ्चालनको शैली, निर्णय प्रक्रिया र भविष्यको राजनीतिक लाइन तय गर्ने संघर्षका रूपमा रूपान्तरण गरेको छ।
निर्वाचन कार्यतालिकाअनुसार मंगलबार मध्याह्न १२ बजेदेखि मतदान हुँदैछ। जानकारहरूका अनुसार ओली पक्षमा देखिएको असन्तुष्टिको असर निर्वाचन प्रक्रियामा समेत पर्न सक्ने आँकलन गरिएको छ। यही परिस्थितिमा उपाध्यक्ष विष्णु पौडेल समन्वयकको भूमिकामा देखिएका छन्।
महासचिव पदमा सुरेन्द्र पाण्डे र शंकर पोखरेलबीचको प्रतिस्पर्धाले चुनावलाई थप रोचक बनाएको छ। ‘जबज’ का व्याख्याता मानिने पोखरेल र डाटा पुँजीवादका विश्लेषक मानिने पाण्डेबीचको भिडन्तलाई एमालेभित्रको वैचारिक धार र सांगठनिक शैलीबीचको प्रतिस्पर्धाका रूपमा हेरिएको छ। नवौँ महाधिवेशनमा ६ मतले पराजित पाण्डे यसपटक बलियो तयारीसहित मैदानमा उत्रिएका छन्।
उपमहासचिव र सचिव तहमा समेत ओली प्यानलमा असन्तुष्टि बढ्दै गएको छ। योगेश भट्टराई र गोकर्ण विष्ट उपमहासचिवमा उम्मेदवार बनेपछि ओली पक्षका लेखराज भट्ट, रघुवीर महासेठ र विष्णु रिमाल अप्ठेरोमा परेका छन्। सचिव पदमा पोखरेल पक्षका उम्मेदवारहरू ‘क्लिन’ र संगठनमा प्रभावशाली देखिँदा प्रतिस्पर्धा थप जटिल बनेको छ।
ओलीको कोर टिमबाट गोकुल बास्कोटा, कृष्णगोपाल श्रेष्ठ, रघुजी पन्त, प्रदीप ज्ञवाली जस्ता नेताहरू क्रमशः टाढिँदै जानु संस्थापन पक्षका लागि गम्भीर संकेत मानिएको छ। महासचिवका आकांक्षी ज्ञवालीलाई व्यवस्थापन गर्न नसक्नु ओली नेतृत्वको सबैभन्दा कमजोर कडीका रूपमा चर्चा भइरहेको छ।
कोसी प्रदेशलाई अत्यधिक प्राथमिकता दिएको आरोपले पनि असन्तुष्टि चुलिएको छ। केन्द्रीय सदस्यको सूचीमा धेरै सिनियर नेता अट्न नसक्दा प्रदेशगत असन्तुलनको बहस तीव्र बनेको छ।
अध्यक्षमा उम्मेदवारी दर्ता गरेपछि ओली मौन देखिँदा पोखरेल भने कार्यकर्तामाझ सक्रिय छन्। पोखरेलले पार्टीलाई विधि, पद्धति र सामूहिक नेतृत्वको दिशामा लैजानुपर्ने स्पष्ट सन्देश दिँदै प्रतिस्पर्धालाई संस्थागत प्रक्रिया भएको बताएका छन्।
राजनीतिक वृत्तमा यो निर्वाचनलाई एमालेको इतिहासकै सबैभन्दा निर्णायक आन्तरिक प्रतिस्पर्धा का रूपमा हेरिएको छ। परिणामले पार्टीभित्रको शक्ति पुनर्संरचना मात्र होइन, आगामी राष्ट्रिय राजनीतिमा एमालेको भूमिका र दिशा पनि तय गर्ने विश्वास गरिएको छ।































प्रतिक्रिया