काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशन अब निर्णायक मोडमा पुगेको छ। पार्टीको नेतृत्व कसको हातमा जाने भन्ने टुंगो लगाउने गरी बुधबार नयाँ नेतृत्व चयनका लागि मतदान सुरू भएको छ। केही ढिलाइपछि सुरू भएको मतदानलाई एमालेभित्रको खुला शक्ति परीक्षणका रूपमा हेरिएको छ।
२ हजार २६२ प्रतिनिधिको मतमार्फत अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म चयन हुँदैछ। भृकुटीमण्डपको मुख्य हल नपाएपछि बन्दसत्र भएको हलमै विद्युतीय मेसिनमार्फत मतदान भइरहेको छ। यसपटक ८० वटा मेसिन प्रयोग गरिँदा एक प्रतिनिधिलाई मत हाल्न करिब ३५–४० मिनेट लाग्ने अनुमान गरिएको छ।
महाधिवेशनको केन्द्रमा ओली–पोखरेलबीचको सीधा भिडन्त छ। निवर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आ–आफ्नो गुटसहित मैदानमा उत्रिँदा पार्टीभित्र लामो समयदेखि दबिएको शक्ति संघर्ष सतहमा आएको छ।
मतदान सकिएलगत्तै मतगणना सुरू हुने र विद्युतीय प्रणाली भएकाले दुई घन्टाभित्रै नतिजा सार्वजनिक हुने तयारी छ। नतिजाले एमालेको आन्तरिक शक्ति सन्तुलन मात्र होइन, समग्र राष्ट्रिय राजनीतिमा समेत प्रभाव पार्ने निश्चित छ।
एमाले महाधिवेशन अब नेतृत्व चयनभन्दा पनि पार्टीको भविष्यको दिशामाथिको जनमत संग्रहजस्तै बनेको छ।































प्रतिक्रिया