पार्टी दर्ता भएको महिना दिन नपुग्दै हर्क साम्पाङको पार्टीमा हलचल, उपाध्यक्ष लामा निलम्बित

पार्टी दर्ता भएको महिना दिन नपुग्दै हर्क साम्पाङको पार्टीमा हलचल, उपाध्यक्ष लामा निलम्बित

केन्द्रबिन्दु
45
Shares

काठमाडौँ । श्रम संस्कृति पार्टी दर्ता भएको १ महिना पनि नपुग्दै पार्टी भित्र हलचल मच्चिएको छ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पार्टीभित्रै हलचल ल्याउने कडा निर्णय लिएका छन्। पार्टीका उपाध्यक्ष देवराज लामालाई बम विस्फोटसम्बन्धी पुरानो घटनामा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेपछि साम्पाङले उनलाई पार्टीको जिम्मेवारीबाट निलम्बन गरेका हुन्।

बुधबार सार्वजनिक गरिएको भिडियो सन्देशमार्फत मेयर साम्पाङले पार्टीको आधिकारिक निर्णय सुनाउँदै राज्यको अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। अनुसन्धान नटुंगिएसम्म उपाध्यक्ष लामालाई पार्टीको कुनै पनि जिम्मेवारी नदिइने स्पष्ट पार्दै उनले भने, म सधैं गलतलाई गलत र सहीलाई सही भन्ने मान्छे हुँ। राज्यको अनुसन्धानमा दबाब दिने वा प्रभाव पार्ने मेरो कुनै चाहना छैन।

उनका अनुसार अनुसन्धान प्रक्रियालाई सहज बनाउन र नैतिकताको आधारमा यो निर्णय गरिएको हो। यद्यपि साम्पाङले पक्राउको समय र सन्दर्भप्रति गम्भीर आशंका पनि व्यक्त गरे। उपाध्यक्ष लामा पूर्व माओवादी कार्यकर्ता रहेको र सशस्त्र द्वन्द्वमा सहभागी भएको कुरा आफूलाई पहिल्यै थाहा भए पनि विगतमा जेल सजाय भुक्तान गरिसकेको भन्ने चर्चा रहेको उनले स्मरण गराए ।

२०७९ सालको निर्वाचनमा उम्मेदवारी दिँदा केही भएन। तर अहिले श्रम संस्कृति पार्टीको लोकप्रियता र क्रेज बढ्दै जाँदा १३–१४ वर्ष ,२०–२५ वर्ष पुराना घटना उक्काएर पक्राउ गरिनु राजनीतिक प्रतिशोध र षड्यन्त्रको संकेत जस्तो देखिन्छ, साम्पाङले कडा शब्दमा भनेका छन् । यस्ता षड्यन्त्रबाट आफूहरू विचलित नहुने उनको स्पष्ट सन्देश छ ।

एकातिर कानुनी प्रक्रियाप्रति सम्मान, अर्कोतिर राजनीतिक षड्यन्त्रको आशंका हर्क साम्पाङको यो कदमले श्रम संस्कृति पार्टीभित्र अनुशासन र बाहिर राजनीतिक तरंग दुवै पैदा गरेको छ । आगामी दिनमा अनुसन्धानको नतिजाले मात्र होइन, साम्पाङको अडानले पनि नेपाली राजनीतिको दिशा संकेत गर्ने देखिन्छ ।

Skip This
Skip This
Logo