१९ दिन बाँकी रहँदा अन्योलमा कांग्रेस महाधिवेशनः क्रियाशील सदस्यताको सकस कहिलेसम्म ?

१९ दिन बाँकी रहँदा अन्योलमा कांग्रेस महाधिवेशनः क्रियाशील सदस्यताको सकस कहिलेसम्म ?

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । नेपाली कांग्रेसले १५औं महाधिवेशन पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ । चुनाव अघि महाधिवेशन गर्ने कि पछि ? विशेष महाधिवेशन गर्नेकी नियमित महाअधिवेशन गर्ने भन्ने लामो रस्साकस्सी पछि मंसिर १५ गतेको बैठकले पुस २६ देखि २८ सम्म महाधिवेशन गर्ने कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमिति बैठकले सर्वसम्मत रूपमा महाधिवेशन कार्यतालिका ल्याउने निर्णय गरेको थियो ।

जेन–जी आन्दोलनपछि पार्टीको सक्रिय नेतृत्व त्यागेका सभापति शेरबहादुर देउवा सिंगापुरबाट फर्केपछि पार्टीमा मध्यमार्गी बाटो अवलम्बन गर्दै नेताहरुसँगको छलफल पश्चात कांग्रेस यो निर्णयमा पुगेको पनि महाधिवेशन तोकिएकै मितिमा सम्पन्न हुनेमा नेताहरू पनि विश्वस्त छैनन्।

बैठकबाट पारित कार्यतालिका अनुसार महामन्त्री गगन थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले काम पूरा गर्न नसक्दा महाधिवेशनको प्रक्रिया अन्योलमा परेको हो । केन्द्रीय समितिको बैठकले मंसिर २० गतेभित्रै नयाँ क्रियाशील सदस्यता फाराम केन्द्रबाट वितरण गरिसक्ने र २४ गतेसम्म वडा तहसम्म पु¥याउने कार्यतालिका तय गरेको थियो । तर, सो कार्य समयमै हुन सकेन ।

केन्द्रीय समितिको निर्णयअनुसार थापा नेतृत्वको समितिले जिल्ला हुँदै तल्लो तहमा पठाएका चार लाख नयाँ क्रियाशील सदस्यता फाराममा ‘सिरियल नम्बर’ नभएको पाइएपछि विवाद सुरु भएको हो ।

केन्द्रीय समितिको निर्णय अनुसार पुस ८ गतेभित्र नयाँ क्रियाशील सदस्यता वितरणको काम सक्ने, पुस १२ गतेभित्र केन्द्रलाई प्रतिवेदन बुझाउने र पुनरावेदनको काम १४ गतेसम्म सक्ने तालिका रहेको छ । पुस १४ गते नै केन्द्रीय सभापतिलाई सदस्यताको अन्तिम सूची बुझाउनुपर्ने भनिएको छ ।

यस्तै, पुस १५ गतेभित्र विदेशस्थित जनसम्पर्क समितिको अधिवेशन, १६ गते वडा, १७ गते पालिका, १९ गते प्रदेशसभा निर्वाचन क्षेत्र र २१ तथा २२ गते जिल्ला अधिवेशन गर्ने तालिका छ । पुस २३ र २४ गते प्रदेश अधिवेशन सकेर २६ देखि २८ गतेसम्म काठमाडौँमा १५औँ महाधिवेशन गर्ने निर्णय भएको थियो ।

कांग्रेसले महामन्त्री थापाको संयोजकत्वमा केन्द्रीय सदस्यहरू सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली सदस्य रहेको क्रियाशील सदस्यता व्यवस्थापन समिति बनाएर काम गरिरहेको छ । नियमित १५ औं महाधिवेशन गर्ने निर्णय गरेसँगै क्रियाशील सदस्यताको विषय टुंग्याउन जनसङ्ख्या र क्लस्टर संरचनालाई समेत मापदण्डका रूपमा प्रयोग गरेर सदस्यताको विषय तोकिएको सयमै सम्पन्न गर्न निर्देशन दिइएको छ ।

कांग्रेसमा टोल, वडा, गाउँपालिका, प्रदेशसभा, प्रतिनिधिसभा, जिल्ला, प्रदेश हुँदै केन्द्रीय समितिमा सदस्यताको विवरण आइपुग्छ । १४औँ महाधिवेशनका बेला कांग्रेसमा ८ लाख ८२ हजार ८ सय १६ जना क्रियाशील सदस्य कायम थिए । कांग्रेसमा सदस्यता विवाद चलिरहँदा नेकपा एमालेले भने यही परिस्थितिमा महाधिवेशन सम्पन्न ग¥यो। कांग्रेसको किन नसक्ने भन्ने खवरदारी समेत बढेको छ ।

निर्धारित मितिमा कांग्रेस महाधिवेशन गर्न अब १९ दिन मात्रै बाँकी छ । क्रियाशील सदस्यताको विवाद हल हुन सकेको छैन। कांग्रेस महाधिवेशन सम्पन्न गर्न क्रियाशील सदस्यताको टुंगो लगाउनु अनिर्वाय छ, किनभने, वडा, नगर, क्षेत्रदेखि केन्द्रसम्म पार्टीको आन्तरिक प्रतिस्पर्धामा उम्मेदवार बन्न क्रियाशील सदस्य हुनै पर्छ । कांग्रेसमा महाधिवेशन प्रतिनिधि बन्न पनि क्रियाशील सदस्यता अनिवार्य रहेको छ ।

सभापतिमा गगन थापाको उम्मेदवारी घोषणा

महामन्त्री गगन थापाले १५ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै महामन्त्री थापाले आफू १५ औं महाधिवेशनमा सभापतिको उम्मेदवार रहने र सभापति बन्ने दावी गरेका हुन्।

‘पार्टी सभापतिलाई समयमै महाधिवेशन गर्नुपर्छ भनेर भनिरहेका छौं। यसमा आफू स्पष्ट रहेको छु। महाधिवेशन निर्वाचनअघि नै हुनुपर्छ,’ उनले भने, ‘म अहिले पार्टीको सभापतिको १५ औं महाधिवेशनको सभापतिको उम्मेदवार हो। म पार्टीको सभापति बन्छु, बन्न चाहन्छु। अधिवेशन नेतृत्व नयाँ आउने कुरा मात्रै होइन, पार्टी नयाँ बनाउने समय पनि हो।’

थापाले अहिले क्रियाशील सदस्यको काममा ढिलाइ भइरहेकोप्रति आपत्ति जनाए । ‘अहिले तलबाट क्रियाशिल सदस्यको कामहरू हुँदै गर्दा ठाउँ ठाउँबाट क्रियाशील सदस्य पठाइदिनुपर्ने कुराहरू जसरी भइराख्नुपर्ने हो आइरहेको छैन’, उनले भने, ‘तर म कसैलाई दोष दिन्न । किनभने अझै गर्नसक्छु भन्ने विश्वास छ। लागिरहेको छौँ।’

उनले महाधिवेशन नेतृत्व परिवर्तन गर्ने मात्र नभइ पार्टीलाई नयाँ बनाउने समय भएको तर्क पनि गरे ।

गगन मात्र होइनन्, १५औं महाधिवेशनमा सभापति ताक्नेहरुमा डा. शेखर कोइरालादेखि चन्द्र भण्डारी, पूर्णबहादुर खड्कालगायत छन् । यसले पनि पार्टीभित्र सरगर्मी बढाएको छ ।

Logo