चुनावी ‘हट स्पट’ बन्दै झापा

चुनावी ‘हट स्पट’ बन्दै झापा

केन्द्रबिन्दु
54
Shares

काठमाडौं । नेपालको संविधान अनुसार प्रत्येक ५ वर्षमा निर्वाचन हुनुपर्ने कानुनी व्यवस्था छ । संघ, प्रदेश र स्थानीय तहहरुको ५ वर्षे कार्यकाल संविधानमा उल्लेख भएपनि जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनकारीको मागबमोजिम प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेकी थिइन्। प्रतिनिधिसभा विघटन भएपछि त्यसैअनुरूप फागुन २१ गते निर्वाचनको मिति तय भएको हो।

योसँगै निर्वाचन आयोग चुनावको तयारीमा जुटेको छ भने राजनीतिक दलहरु पनि आन्तरिक तयारीमा व्यस्त छन् ।

मङ्सिर १ गतेदखि १० गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको काम सकिसकेको आयोगले समानुपातिक निर्वाचन प्रणालीका पुस १८ र १९ गते बन्दसूची पेश गर्ने कार्यक्रम तोकेको छ। सोही अनुरुप दलहरु आन्तरिक तयारीमा जुटिसकेका छन्।

फागुन २१ मा हुने निर्वाचनमा यो पटक झापा जिल्ला अहिलेबाटै चर्चामा रहेको छ । विगतको निर्वाचनमा पनि चर्चामा रहने गरेको झापाको निर्वाचन यसपाली थप रोचक हुने देखिएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध झापाबाट चुनाव लड्ने चाहना व्यक्त गरेसँगै थप रोचक बन्ने देखिएको हो । बालेन आफैंले भने संसदीय चुनाव लड्ने कि काठमाडौं महानगरको कार्यकाल पूरा गर्ने आधिकारीक धारणा दिइसकेका छैनन् । सहकारी ठगी आरोपमा जेलबाट निस्किएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र मेयर बालेन शाहबीच सोमबार राति लामो छलफल पछि यो कुरा सार्वजनिक भएको हो ।

५ वटा निर्वाचन क्षेत्र रहेको झापामा गत निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, क्षेत्र नं. २ वाट सभामुख देवराज घिमिरे, क्षेत्र नं. ३ वाट राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङदेन, क्षेत्र नं. ४ बाट एमालेका एलपी साँवा र क्षेत्र नं. ५ वाट एमाले अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएका थिए । २०७९ सालको निर्वाचनमा झापामा कांग्रेस, माओवादी, समाजवादीको एकता थियो भने एमाले र राप्रपाबीच तालमेल थियो । ५ सिटमध्ये ३ मा एमालेले जित हात पार्दा एकमा कांग्रेस र एकमा राप्रपाले जितेका थिए ।

झापा १ मा यो पटक पनि कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा नै उम्मेदवार बन्ने छन्। गत निर्वाचनमा एमालेका उम्मेदवार अग्नि खरेललाई हराउँदै शर्माले पहिलोपटक संसदीय यात्रा तय गरेका थिए । त्यतिबेला माओवादीसँग गठबन्धन गरेका शर्मा ३९ हजार ६२४ मत पाएर विजयी भएका थिए भने खरेलले २५ हजार ३४९ मत पाएका थिए । यसैगरी रास्वपाका उम्मेदवारले ८ हजार मत पाएका थिए । अबको निर्वाचनमा माओवादी, कांग्रेसका छुट्टाछुट्टै उम्मेदवार बन्नेछन् भने चुनावी जोडघटाउ थप रोचक हुने देखिन्छ ।

यसैगरी झापा २ मा गत चुनावझैं यो पटक पनि रोचक भिडन्त हुने पक्का छ । एमालेको गढ क्षेत्र मानिएको यहाँ २०७९ मा एमालेका देवराज घिमिरेले मुस्किलले जित हात पारेका थिए । घिमिरेले २८ हजार ७१६ सय मत पाउँदा स्वतन्त्र उम्मेदवार बनेका भद्रप्रसाद शर्मा (स्वागत नेपाल)ले २६ हजार ४५५ सय मत पाएका थिए । यो पटक शर्मा नतिजा आफ्नो पक्षमा पार्ने गरी चुनावी तयारीमा लागेका छन् ।

एमालेबाट माओवादी प्रवेश गरेका कांग्रेस र माओवादीका उम्मेदवार हरि रानाले १३ हजार मत पाएका थिए भने रास्वपाले करिव ५ हजार मत पाएको थियो । यो क्षेत्रमा अवको निर्वाचनमा विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं पनि उम्मेदवार बन्न सक्नेछन् । माओवादी, एमाले, राजावादी हुँदै छुट्टै अभियान चलाउँदै आएका प्रसाईंको पनि राम्रो पकड रहेको क्षेत्र हो ।

झापा ३ मा एमालेसँगको गठबन्धनमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ४० हजार ६६२ मत पाएर जितेका थिए । त्यतिबेला प्रतिद्धन्द्धी कांग्रेसका बरिष्ठ नेता पूर्वगृहमन्त्री कृष्ण सिटौलाले ३७ हजार ३८६ मत पाएका थिए । योपटक पनि लिङ्देन उम्मेदवार सिफारिस भइसकेका छन् । यसअघि उनी सोही क्षेत्रबाट दुई पटक प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका थिए । तर माओवादी र कांग्रेस तथा राप्रपा एमाले गठबन्धन नरहेमा अब हुने निर्वाचनमा कसले बाजी मार्छ यसै भन्न नसकिने अवस्था रहेको छ ।

गत निर्वाचनमा एमालेबाट दुर्गा प्रसाईंले पनि यो क्षेत्रबाट निर्वाचन लड्ने ईच्छा देखाएका थिए । अब प्रसाईं झापा २ वा ३ कहाँबाट चुनाव लड्छन् भन्ने पर्ख र हेरकै अवस्था रहेको छ । सो क्षेत्रका संघमा लिङदेन र प्रदेशसभाका दुवै सिटमा एमालेका उम्मेदवार विजयी भएका थिए । अबको निर्वाचनमा एमालेबाट सुनिता बरालले पनि दावी गर्ने बुझिएको छ ।

झापाको निर्वाचन क्षेत्र नं ४ एमाले उम्मेदवार एलपी साँवाले जित्दै आएको क्षेत्र हो । गएको चुनावमा साँवाले २९ हजार ३ सय १५ मत पाएका थिए भने कांग्रेस झापाका सभापति देउमान लिम्बुले २२ हजार ४४८ मत पाएका थिए । उनी माओवादी र कांग्रेसका साझा उम्मेदवार थिए । सो क्षेत्रमा रास्वपाका उम्मेदवारले १४ हजार मत पाएका थिए भने राप्रपाकी खुस्बु ओलीले ५ हजार मत पाएकी थिइन्। साँवाले लगातार चुनाव जित्दा पनि मन्त्री नबनाएको र एमाले केन्द्रीय सदस्य समेत ओलीले नबनाए पछि सो क्षेत्रमा अब ओलीको रोजाई साँवा नहुने बुझिएको छ । अब फागुनमा राष्ट्रियसभा सदस्यको पदावधि सकिने देवेन्द्र दाहाल दाउ हेरिरहेका छन् ।

झापा ५ एमाले अध्यक्ष ओलीको क्षेत्र हो । गएको चुनावमा प्रतिस्पर्धी भन्दा दोब्बर बढी मतले ओली विजयी भएका थिए । राप्रपा र एमालेको साझा उम्मेदवार बनेका ओलीले ५२ हजार ३१९ मत पाएका थिए भने कांग्रेसका उम्मेदवारले २३ हजार ७४३ मत पाएका थिए । रास्वपाका उम्मेदवारले करिब ११ हजार मत पाएका थिए । ओलीको निर्वाचन क्षेत्रमा राप्रपाको पनि राम्रो मत रहेकाे छ । दमक नगरपालिकको मेयर राप्रपाबाट राम थापाले जितेका हुन् । यस क्षेत्रमा ओलीको विकल्पको रुपमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई हेरिने गरिएको छ ।

जेनजी आन्दोलनको मुख्य निशाना बनेका ओलीलाई विगतको जस्तो सजिलो यो निर्वाचन हुनै छैन भने रास्वपा र जातीय दलहरुले पनि अबको निर्वाचनमा ओलीको मत काट्ने देखिन्छ ।

प्रधानमन्त्रीबाट राजीनामा दिएपछि एक टेलिभिजन अन्तर्वार्तामा प्रधानमन्त्री कार्कीलाई आफूसँग चुनाव लड्न झापा आउन सुझाएका थिए । अहिले प्रधानमन्त्रीका प्रिय पात्र काठमाडौं महानगरका मेयर बालेन शाहले झापाबाट ओलीसँग चुनाव लड्न चाहेको कुरा बारिएपछि झापाको यो क्षेत्र अब हुने निर्वाचनमा थप रोचक बन्ने देखिन्छ । राप्रपा र एमालेबीच चुनावी तालमेल नभएको खण्डमा ओलीको अहिलेको मत केही अन्तर हुने छ भने सो क्षेत्रमा माओवादीका युवा नेता रन्जीत तामाङ अघिल्लो निर्वाचनदेखि नै अब आफू उम्मेदवार बन्ने भन्दै तयारीमा जुटेका छन् ।

निर्वाचन फागुन २१ मै हुन्छ/हुन्न भन्ने बहस भैरहेको बेला अब ७० दिन बाँकी छ भने अदालतबाट संसद पुनर्स्थापनाको मुद्दाको फैसला आउन पनि बाँकी नै छ । चर्चित पात्रहरुमा चुनाव लड्ने चाहनाले धेरै प्रतिस्पर्धीहरु थपिने आंकलन गरिएको छ । संसद पुर्नस्थापना नभए र तोकिएएकै मितिमा निर्वाचन भए झापा चुनावी हट स्पट बन्ने छ ।

Logo