काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र बालेन शाह र कुलमान घिसिङ समूहको प्रवेशसँगै पार्टीको आन्तरिक शक्ति सन्तुलन नयाँ मोडमा पुगेको छ । एकता प्रक्रियालाई सहज बनाउन दुवै समूहलाई पदाधिकारी तहमा समान हैसियत दिने सहमति भएको छ, जसले रास्वपाको भावी नेतृत्व संरचनालाई पुनःआकार दिएको छ ।
रास्वपा स्रोतका अनुसार बालेन समूहबाट एक जना महामन्त्री र एक जना सहमहामन्त्री समावेश गर्ने सहमति भएको छ भने कुलमान घिसिङ समूहलाई एक जना सहमहामन्त्री र एक जना सहप्रवक्ताको जिम्मेवारी दिने समझदारी बनेको छ । यसरी दुवै समूहबाट दुई–दुई जनालाई पदाधिकारी बनाउने ‘भद्र सहमति’ भएको बताइन्छ, यद्यपि औपचारिक नाम सार्वजनिक हुन बाँकी छन्।
पार्टी सभापति रवि लामिछानेले बालेन शाह र कुलमान घिसिङसँग छुट्टाछुट्टै सहमतिपत्रमा हस्ताक्षर गरेसँगै रास्वपाको राजनीतिक आकांक्षा अझ स्पष्ट भएको छ । सहमतिअनुसार बालेन शाहलाई आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने समझदारी छ, जुन रास्वपाको हालसम्मकै सबैभन्दा महत्वाकांक्षी राजनीतिक निर्णयका रूपमा हेरिएको छ ।
त्यस्तै, उज्यालो नेपाल पार्टीका संरक्षकसमेत रहेका ऊर्जामन्त्री कुलमान घिसिङलाई रवि लामिछानेपछिको पहिलो वरीयतामा उपसभापति बनाइएको छ। कुलमानपछिका उपसभापतिमा डिपी अर्याल र स्वर्णिम वाग्ले रहनेछन्।
हाल रास्वपामा एक मात्र महामन्त्री कबिन्द्र बुर्लाकोटी छन् भने सहमहामन्त्रीमा विपिन आचार्य मात्रै छन्। सहप्रवक्ताको जिम्मेवारी प्रतिभा रावल र रमेश प्रसाईंले सम्हालिरहेका छन्। नयाँ सहमतिपछि पदाधिकारी संख्या बढ्ने मात्र होइन, पार्टीभित्र शक्ति सन्तुलन पनि नयाँ ढाँचामा पुनर्संरचना हुने संकेत देखिएको छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार बालेन–कुलमान समूहको औपचारिक प्रवेशले रास्वपाको जनआकर्षण र चुनावी रणनीतिलाई बलियो बनाउने अपेक्षा गरिएको छ, तर त्यससँगै पार्टीभित्र आन्तरिक समन्वय र नेतृत्व व्यवस्थापन चुनौतीपूर्ण बन्ने सम्भावना पनि उत्तिकै छ ।





























प्रतिक्रिया