जाँचबुझ आयोगको धम्कीपछि प्रचण्ड–देउवा झुके, बयान अझै रहस्यमै

जाँचबुझ आयोगको धम्कीपछि प्रचण्ड–देउवा झुके, बयान अझै रहस्यमै

केन्द्रबिन्दु
69
Shares

काठमाडौँ । जेन–जी आन्दोलनको दमन र त्यसपछिको विध्वंसबारे जाँच गर्न गठित जाँचबुझ आयोगको पत्र बुझ्न अस्वीकार गर्दै आएका प्रमुख दलका दुई शीर्ष नेता अन्ततः आयोगको चेतावनीपछि झुकेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सार्वजनिक सूचना निकालिने चेतावनीपछि आयोगको म्याद बुझेका हुन्।

आयोगले दुवै नेतालाई व्यक्तिगत धारणा र जवाफ दिन आग्रह गर्दै पत्र पठाएको थियो। तर व्यक्तिगत सुरक्षा अधिकृतमार्फत म्याद तामेल गराउने प्रयास हुँदा दुवैले सुरुवाती चरणमा पत्र बुझ्न अस्वीकार गरेका थिए।

देउवाले आफू २४ भदौको आगजनीबाट पीडित, घर जलेर विस्थापित भएको र जेन–जी आन्दोलनका बेला राज्यको कुनै जिम्मेवारीमा नरहेको दाबी गर्दै “यस्तो अवस्थामा किन बयान दिने रु” भन्ने प्रश्न उठाएका थिए।

त्यस्तै, प्रचण्डले पनि जेन–जी आन्दोलनका बेला आफू प्रमुख विपक्षी दलको नेता रहेको, सत्तामा रहेकाहरूमाथि खबरदारी गरिरहेको र उल्टै आफ्नै निवासमा आगजनी भएको अवस्थामा बयान दिनुपर्ने आधार के हो रु भन्दै पत्र बुझ्न अस्वीकार गरेका थिए।

तर आयोगको तर्फबाट खटिएका कर्मचारी र सुरक्षा अधिकारीहरूले यो बयान लिन होइन, धारणा बुझ्नका लागि मात्र पठाइएको पत्र भएको स्पष्ट पारेका थिए। साथै, पत्र नबुझेमा सार्वजनिक सञ्चारमाध्यममार्फत सूचना प्रकाशन गरिने र सहयोग नगरेको विवरण प्रतिवेदनमै समावेश गरिने कडा चेतावनी दिएका थिए।

त्यसपछि दुवै नेताले केही घण्टाको फरकमा पत्र बुझेका प्रहरी स्रोतले जनाएको छ। “पत्र बुझ्नुभयो, तर आयोगमा उपस्थित हुने कि लिखित जवाफ पठाउने भन्नेबारे अझै निर्णय भएको छैन,” म्याद तामेलमा संलग्न प्रहरीसम्बद्ध स्रोतले भन्यो।

Logo