को हुन् बालेनका झापा कमाण्डर ?

को हुन् बालेनका झापा कमाण्डर ?

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) झापा क्षेत्र नम्बर ५ मा चुनावी प्रतिस्पर्धामा होमिने भएपछि उनलाई जिताउन पार्टीले आन्तरिक तयारी तीब्र बनाएको छ ।

पार्टीका जिल्लास्तरीय नेताहरूले बालेनका लागि दमकमा डेरा खोज्नेदेखि भव्य स्वागतको तयारी गरेका छन् । झापाबाट काठमाडौंसम्म आएर रास्वपाका कार्यवाहक जिल्ला सभापति प्रकाश पाठकसँग सल्लाह गरेपछिपछि रास्वपाका वरिष्ठ नेता बालेन झापा क्षेत्र नं. ५ मा चुनावी मैदानमा उत्रने तयारीमा छन् ।

पाठकमाथि कतिपयले झापामा कुनै राजनीतिक साइनो नभएका बालेनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भिडाउन उक्साएको आरोप लगाएका छन् । रास्वपा स्रोतका अनुसार पार्टी सभापति रवि लामिछानेसँग प्रारम्भिक छलफल गरेपछि पाठक बालेनलाई भेट्न कुपण्डोल गएका थिए, केही साथीहरूसहित ।

पाठकले स्थानीय कमिटीमार्फत केही प्रारम्भीक भोटिङ इन्टेन्सन सर्वेसमेत बोकेर आएको बालेन्द्र निकट एक सदस्यले बताए । ‘राष्ट्रिय राजनीतिमा आएको बदलाव र केही मतदाताहरूको सर्वे समेत उहाँहरूले बताउनुभएको थियो,’ भेटमा सहभागी एक नेताले भने ।

रास्वपा झापाका कमाण्डर पाठक आफैं लामो राजनीतिक बिरासत भएका व्यक्ति होइनन् । काठमाडौंमा पत्रकारिता गर्दै गर्दा गृहजिल्ला फर्किएका पाठक समयक्रममा बालेन्द्रको चुनावी कमाण्डर बनेका छन् । पाठकको परिचयभन्दा अगाडि उनी गएको निर्वाचनमा उम्मेदवार हुँदा प्राप्त मत र जिल्लामा रास्वपाको गएको निर्वाचनको मतलाई विश्लेषण गरौं ।

झापाका ५ निर्वाचन क्षेत्रमध्ये पाठक नै ती उम्मेदवार हुन् जसले २०७९ को निर्वाचनमा सबैभन्दा कम मत पाएका थिए । निर्वाचन क्षेत्र नम्बर–१ मा ओमनाथ भण्डारीले ८,५६४ मत प्राप्त गरेका थिए । यस्तै, क्षेत्र नम्बर–२ मा रुद्र प्रसाद गिरीले ८,७८१ मत हासिल गर्दा क्षेत्र नम्बर–३ मा प्रकाश पाठकले ३,४६१ मत प्राप्त गरेका थिए । क्षेत्र नम्बर–४ मा शम्भु प्रसाद ढकालले सबैभन्दा बढी १४,०६९ मत प्राप्त गरेका थिए भने क्षेत्र नम्बर–५ मा सुरेस कुमार पोखरेलले ११,७५९ मत ल्याएका थिए ।

पाठकको आफ्नै निर्वाचन क्षेत्र भने रास्वपाका लागि प्रतिकूल छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, कांग्रेस नेता कृष्णप्रसाद सिटौला, एमाले नेता वसन्त बानियाँ लगायतको पकड क्षेत्रमा पाठकलाई रास्वपाको उपस्थिति देखाउन मुस्किल छ । आफ्नो निर्वाचन क्षेत्रमा दौडधूप गर्ने समयमा पाठकमाथि बालेनलाई जिताउने अर्को दायित्व आइपरेको छ ।

को हुन् पाठक ?
प्रकाश पाठक व्यवस्थापनका विद्यार्थी हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातक पूरा गरेपछि २०६३ सालमा उनी पत्रकारितामा प्रवेश गरेका थिए ।

दमकस्थित पाथीभरा एफएमबाट सुरु भएको उनको पत्रकारिता यात्रा हिमाल एफएम, रेडियो अन्नपूर्ण, रेडियो कान्तिपुर हुँदै ग्यालेक्सी टेलिभिजनसम्म आइपुग्दा करिब १४ वर्ष पत्रकारितामा बिताए ।

राजनीतिमा होमिएपछि उनले छोटो समयमै उल्लेख्य जिम्मेवारी पाएका छन् । असार ३० मा पार्टीको जिल्ला सचिव बनेका पाठक २०८१ पुस १७ गते दोस्रो जिल्ला भेलाबाट जिल्ला उपसभापतिमा निर्वाचित भए भने २०८१ फागुन ११ देखि कार्यबाहक जिल्ला सभापतिको भूमिकामा छन् ।

Logo