देउवालाई अभिभावकीय भूमिकामा रहन कांग्रेस बैठकको आग्रह

देउवालाई अभिभावकीय भूमिकामा रहन कांग्रेस बैठकको आग्रह

जनतालाई कांग्रेससँग पुनः जोड्न र निर्वाचनको तयारी गर्न एकताबाहेक अर्को विकल्प नरहेको निष्कर्ष

केन्द्रबिन्दु
66
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले पार्टीभित्र देखिएको मतभेदलाई थाती राख्दै एकता र सद्भाव कायम राख्न सार्वजनिक अपिल गरेको छ । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मान्यता दिएपछि बसेको बैठकले आगामी निर्वाचनलाई ध्यानमा राख्दै पार्टीलाई एकताबद्ध बनाउन जोड दिएको हो।

नयाँ बानेश्वरमा आज बसेको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता देवराज चालिसे ले कांग्रेसका अगाडि चुनौतीका पहाड रहेको उल्लेख गर्दै जनतालाई कांग्रेससँग पुनः जोड्ने र निर्वाचनको तयारी गर्न एकताबाहेक अर्को विकल्प नरहेको निष्कर्ष बैठकले निकालेको उनले बताए ।

जनतालाई नेपाली कांग्रेससँग जोड्नु छ, निर्वाचन नजिकिँदै छ, चालिसेले भने, “पार्टीको एकता र सद्भावलाई कायम राख्दै कांग्रेसलाई उचाइमा पु¥याउन सबैमा हार्दिक अपिल गर्ने निर्णय भएको छ।”

बैठकले निवर्तमान केन्द्रीय सदस्यहरूलाई समेत पार्टीलाई बलियो बनाउने भूमिकामा सक्रिय हुन आग्रह गरेको छ । यसैगरी, निवर्तमान सभापति शेरबहादुर देउवालाई पार्टीको अभिभावकीय भूमिकामा रहन औपचारिक रूपमा आग्रह गरिएको छ ।

प्रवक्ता चालिसेले देउवाले लामो समय पार्टीको नेतृत्व गर्दै पु-याएको योगदानलाई उच्च मूल्याङ्कन गरिएको बताए । उनले भने,“आगामी दिनमा पनि निवर्तमान सभापति शेरबहादुर देउवाको अभिभावकीय भूमिका रहनेछ भन्ने विश्वास पार्टीले लिएको छ,”

प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ताको समय नजिकिँदै गएकाले पार्टी उम्मेदवार चयन प्रक्रियामा केन्द्रित भइसकेको जानकारी पनि चालिसेले दिए।

Logo