टेलिकम ठेक्का विवाद चुलिँदा सञ्चार सचिव अर्यालको सरुवा

टेलिकम ठेक्का विवाद चुलिँदा सञ्चार सचिव अर्यालको सरुवा

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । नेपाल टेलिकमको ठेक्कापट्टामा चलखेल नरोकिएको भन्दै सरकारले सञ्चार तथा सूचना प्रविधि सचिव राधिका अर्याललाई जिम्मेवारीबाट हटाएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको हो।

उनको ठाउँमा महिला मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेत सञ्चार मन्त्रालयमा सरुवा हुँदैछिन्। यसअघि पनि सचिव अर्याललाई सरुवा गर्ने प्रयास भए पनि सफल हुन सकेको थिएन। प्रधानमन्त्री कार्यालयसम्बद्ध स्रोतका अनुसार सञ्चारमन्त्री जगदीश खरेल ले सचिव अर्यालको कार्यशैलीबाट मन्त्रालय र मातहतका निकायमा सुधार सम्भव नभएको निष्कर्षसहित पटक–पटक सरुवाको प्रस्ताव गरेका थिए ।

विशेषगरी नेपाल टेलिकमको बिलिङ प्रणालीको ठेक्का प्रक्रियामा सचिव अर्यालको अस्वाभाविक चासो देखिएको मन्त्रालय स्रोतको दाबी छ । टेलिकमको सञ्चालक समिति अध्यक्षको हैसियतमा उनले ठेक्का प्रक्रियामा आवश्यकभन्दा बढी रुचि देखाएको आरोप लाग्दै आएको थियो। गत मंसिरमा गठन भएको अध्ययन समितिले बिलिङ प्रणालीको टेण्डरमा मिलेमतो भएको र सार्वजनिक खरिद ऐनको उल्लंघन भएको निष्कर्ष निकालेको थियो। समितिले बोलपत्रको प्राविधिक मापदण्ड निर्माणमै सेटिङ भएको संकेत गरेको छ ।

अध्ययन समितिका प्रतिवेदनपछि पनि टेलिकमको संस्थागत सुधारमा अपेक्षित सक्रियता नदेखिएपछि सरकार सचिव अर्याललाई अन्य मन्त्रालयमा सरुवा गर्न बाध्य भएको स्रोतले जनाएको छ ।

Logo