आसन्न निर्वाचनका लागि बालेनका तीन विकल्प, आखिर कहाँबाट उठ्लान् ?

आसन्न निर्वाचनका लागि बालेनका तीन विकल्प, आखिर कहाँबाट उठ्लान् ?

केन्द्रबिन्दु
54
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तीन निर्वाचन क्षेत्रलाई विकल्पका रूपमा राखेका छन्। झापा, महोत्तरी र काठमाडौं–२ मध्ये एक स्थानबाट उम्मेदवारी दिने तयारीमा उनी देखिएका हुन्। बालेनले आइतबार माघ ४ गते मेयर पदबाट राजीनामा दिने र माघ ६ गते उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन्।

झापा–५ मा प्रारम्भिक तयारी

बालेनको सचिवालय स्रोतका अनुसार सुरुवाती तयारी झापा निर्वाचन क्षेत्र नम्बर–५ केन्द्रित थियो। सोहीअनुसार उनका सहायक स्वकीय सचिव नवीन भण्डारी नेतृत्वको टोली सम्पर्क कार्यालय व्यवस्थापनका लागि झापा पुगिसकेको छ।

महोत्तरीबाट दबाब

तर पछिल्लो समय महोत्तरीबाटै उम्मेदवारी दिन दबाब बढेपछि बालेनले विकल्प खुला राखेका छन्।
“पहिले झापाबाटै चुनाव लड्ने तयारी थियो,” सचिवालयका एक सदस्यले भने, “तर महोत्तरीका स्थानीयले आफ्नै जिल्लाबाट उम्मेदवार बन्न आग्रह गरेपछि महोत्तरी पनि सम्भावनामा आएको हो।”

काठमाडौं–२ ‘होल्ड’मै

यसैबीच, चर्चामा रहेको काठमाडौं निर्वाचन क्षेत्र नम्बर–२ भने हाल ‘होल्ड’मा राखिएको स्रोतले जनाएको छ। राजधानीमै लोकप्रियता रहे पनि तत्काल काठमाडौं–२ बाट उम्मेदवारी दिने निर्णय भइनसकेको बताइन्छ।

२०७९ सालको निर्वाचनमा काठमाडौं–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेत्री सोविता गौतम निर्वाचित भएकी थिइन्। यसपटक भने उनलाई चितवन–२ बाट प्रतिस्पर्धा गराउने तयारी भइरहेको बताइन्छ।

स्रोतका अनुसार काठमाडौं–२ बाट विपीन आचार्यलाई उम्मेदवार बनाउने चर्चा भए पनि उनले काठमाडौं–५ बाट लड्ने चाहना देखाएपछि निर्णय टुंगोमा नपुगेको हो। “काठमाडौं–२ पनि होल्डमै छ,” स्रोतले भन्यो, “अहिल्यै केही फिक्स भएको छैन।”

रास्वपाको मञ्चमा बालेन–रवि

मेयर पदबाट राजीनामा दिएपछि बालेन काठमाडौंको वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालय पुग्ने कार्यक्रम छ। रास्वपाले यसअघि नै उनलाई पार्टीको वरिष्ठ नेता घोषणा गरिसकेको छ । यसैबीच, माघ ५ गते जनकपुरमा हुने रास्वपाको पहिलो चुनावी सभामा पार्टी सभापति रवि लामिछाने र बालेन एउटै मञ्चमा देखिने नेताहरूले बताएका छन्।

Logo