पोखरा। यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट कास्की निर्वाचन क्षेत्र नम्बर १ मा राजकाजी गुरुङ (करण) उम्मेदवार बनेका छन्। जनयुद्धकालदेखि नै राजनीतिमा सक्रिय गुरुङलाई नेकपाले प्रतिनिधिसभा सदस्यका लागि टिकट दिएको हो। उनी पार्टीका केन्द्रीय सदस्यसमेत हुन्।
‘जनताको भरोसा, परिवर्तनको आधार’ नारासहित गुरुङले चुनावी अभियान सुरु गरेका छन्। देश निर्णायक मोडमा उभिएको उल्लेख गर्दै उनले जनताको जीवनस्तर उकास्ने, सामाजिक न्याय स्थापना गर्ने र समृद्ध नेपालको आधार तयार गर्न इमानदार र प्रतिबद्ध नेतृत्व आवश्यक रहेको बताएका छन्। आफू केवल नेकपाको मात्र उम्मेदवार नभएर कास्की १ का सम्पुर्ण जनसमुदायको साझा प्रतिनिधी उम्मेदवार भएको गुरुङले बताएका छन् ।
उनका अनुसार मजदुर, किसान, युवा, महिला, आदिवासी जनजाति, दलित तथा उत्पीडित वर्गको आवाज संसदसम्म पु¥याउनु उनको प्रमुख लक्ष्य रहेको छ । बेरोजगारी, महँगी, शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका समस्याको समाधानका लागि स्पष्ट दृष्टिकोण र व्यवहारिक कार्यक्रमसहित अघि बढ्ने उनले दाबी गरेका छन्।
करण भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्ने, जनताको दुःख–सुखमा साथ दिने संवेदनशील नेतृत्व विकास गर्ने तथा राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायप्रति दृढ भएर राजनैतीक रुपमा सक्रिय एक युवा नेता मानिन्छन् । इमान्दारिता र स्वच्छ छवी भएका गुरुङले कास्की १ मा टिकट पाउनु पार्टीको मात्र नभएर समग्र कास्कीकै गौरव भएको नेकपा कास्कीले बताएको छ ।
राजकाजी गुरुङ (करण) को राजनीतिक यात्रा
राजकाजी गुरुङ, राजनीतिक क्षेत्रमा ‘करण’ नामले परिचित छन्। उनी लामो समयदेखि नेपालको कम्युनिस्ट आन्दोलनमा सक्रिय नेता हुन्। प्रारम्भमा नेकपा (माओवादी केन्द्र) सँग आबद्ध रहेका गुरुङ हाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट कास्की–१ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन्।
२०६४ सालको संविधानसभा निर्वाचनमा उनले कास्की क्षेत्र नम्बर २ बाट विजयी हुँदै राष्ट्रिय राजनीतिमा महत्वपूर्ण उपस्थिति जनाएका थिए । २०७० सालको निर्वाचनमा पर्वत क्षेत्रबाट प्रतिस्पर्धा गरे पनि पराजित भए ।
२०७४ को निर्वाचनमा कास्की–२ (ख) बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेका गुरुङ नेपाली कांग्रेसका उम्मेदवारसँग झिनो मतान्तरले पराजित भएका थिए । २०७९ सालको निर्वाचनमा उनी राजनीतिक रूपमा सक्रिय रहे पनि कास्की–१ मा प्रत्यक्ष टिकट पाएनन्। उक्त निर्वाचनमा कास्की–१ बाट नेकपा (एमाले) का मानबहादुर गुरुङ विजयी भएका थिए ।
विधार्थीकाल देखिनै राजनीतिमा चासो राख्ने उनी माओवादी जनयुद्दमा भूमिगत जीवन समेत विताए । सशत्र विद्रोहको समयदेखि नै पार्टी संगठनमा सक्रिय गुरुङ माओवादीका आन्दोलनका विभिन्न मोर्चामा सक्रिय भएर लडिरहे । हाल उनी नेकपाका केन्द्रिय सदस्य हुन् ।
कास्की–१ को अवस्था र प्रतिस्पर्धा
नेपाली कम्युनिस्ट पार्टीले माघ ४ गते बसेको बैठकबाट फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कास्की क्षेत्र नम्बर १ बाट राजकाजी गुरुङ (करण) लाई आधिकारिक उम्मेदवार घोषणा गरेको हो।
कास्की–१ अन्तर्गत रुपा गाउँपालिका, मादी गाउँपालिका तथा पोखरा महानगरपालिकाका वडा नं. १०, १२ देखि १४ र २७ देखि ३२ पर्दछन्। ग्रामीण र पर्यटकीय क्षेत्र मिसिएको यो क्षेत्रमा कृषि, पर्यटन र पूर्वाधार विकास प्रमुख चुनावी मुद्दा बनेका छन्।
विगतमा यस क्षेत्रमा एमालेको प्रभाव बलियो देखिए पनि यसपटक करणको उम्मेदवारीले चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।





























प्रतिक्रिया