काठमाडौँ। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगको निर्णयविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ । मंगलबार न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासमा सुनुवाइ प्रारम्भ भएको हो।
निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएपछि देउवा पक्ष अदालत पुगेको हो। उक्त निर्णयविरुद्ध दायर रिटमा कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पनि इजलासमा उपस्थित भएका छन्। हाल निवेदक पक्षबाट अधिवक्ता कामना खातीले बहस गरिरहेकी छन्।
आइतबार शेरबहादुर देउवा र पूर्णबहादुर खड्का पक्ष रहेर वारेस श्रवणकुमार श्रेष्ठमार्फत रिट दायर गरिएको थियो। रिट दायर भएकै दिन सुनुवाइ गरिदिन खड्काले माग गरे पनि प्रशासनले कानुनअनुसार नमिल्ने जवाफ दिएको थियो।
रिटमा देउवा पक्षले विशेष महाधिवेशनलाई अवैधानिक ठहर गर्दै गगन थापा नेतृत्वको कार्यसमितिलाई भंग गर्न माग गरेका छन्। साथै फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि माघ ६ गते तोकिएको मनोनयन प्रक्रिया रोक्न पनि सर्वोच्चसँग आग्रह गरिएको छ ।
मनोनयन भइसकेको अवस्थामा उक्त प्रक्रिया स्थगित गरी नयाँ मनोनयन मिति घोषणा गर्न समेत माग गरिएको छ । निर्वाचनको मुखमै कांग्रेसभित्रको यो विवाद सर्वोच्च अदालत पुग्दा केही नेताहरु उम्मेदवारी दर्ता गराइरहेका छन् कोही अदालतको ढोका ढकढकाइरहेका छन् ।































प्रतिक्रिया