कपिलवस्तु । एमाले नेता पूर्वमन्त्री तथा पूर्वसांसद वृजेश कुमार गुप्ताले एमाले परित्याग गरी कपिलवस्तु क्षेत्र नम्बर २ मा नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन् । आसन्न फागुन २१ को प्रतिनिधि सभा निर्वाचनको लागि गुप्ताले तारा चिन्ह लिएर चुनाव लड्ने भएका हुन् ।उनका प्रस्तावकमा धर्मबहादुरलाल श्रीवास्तव र समर्थकमा रामदास चौधरी रहेका छन्। एमालेमा राजनैतीक भविष्य नभएको भन्दै जनताको विश्वास र यस क्षेत्रको विकासका आफू नेकपा बाट चुनाव लड्न चाहेको बताए ।
२०५६ सालमा नेपाल विद्युत प्राधिकरणमा स्थायी इन्जिनियरको जागिर छोडेर राजनीतिमा प्रवेश गरेका उनले विभिन्न दलमा आवद्ध भई संविधानसभा र प्रतिनिधि सभामा पटक–पटक निर्वाचित भएका छन्।
उनले सुरुमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट राजनीतिमा प्रवेश गरेका थिए भने २०६४ र २०७० मा तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) बाट सांसद तथा संविधानसभा सदस्य बने। २०७४ मा स्वतन्त्र उम्मेदवारको रूपमा एमालेको समर्थनमा (सूर्य चिन्ह) लिएर कपिलवस्तु–२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भए । ७९ को निर्वाचनमा एमालेमा रहेर चुनाव लडेका उनी हार व्यहोरेका थिए ।
गुप्ताले २०६८ मा कानुन मन्त्री र २०७३ मा भौतिक पूर्वाधार तथा विकास मन्त्रीको जिम्मेवारी समेत सम्हालेका छन्। कुल मिलाएर उनी कपिलवस्तुबाट चार पटक संघीय सांसद÷संविधानसभा सदस्य निर्वाचित भइसकेका छन्।
हाल उनी एमाले छोडेर नेकपाबाट उम्मेदवारी दिएका छन्। गुप्ताले एमाले छोड्नुको कारण पार्टी नेतृत्वको कार्यशैली, भ्रष्टाचार संरक्षण, राम्रो शासन नहुनु र जनआन्दोलनमा सरकारको दमनलाई उल्लेख गरेका छन्। विभिन्न दलबाट अफर आए पनि उनी यसपटक ‘तारा’ चिन्हमा कपिलवस्तु–२ बाट चुनावी मैदानमा उत्रिएका हुन्।





























प्रतिक्रिया