इनरुवा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरीका चारवटै निर्वाचन क्षेत्रमा ११० उम्मेदवारले उम्मेदवारी दर्ता गरेका छन् ।
सदरमुकाम इनरुवास्थित शिक्षा तालिम केन्द्रमा क्षेत्र नम्बर २ र ४ को मनोनयन दर्ता सम्पन्न भएको हो भने क्षेत्र नम्बर १ को धरान तथा क्षेत्र नम्बर ३ को दुहबीस्थित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता सम्पन्न भएको हो । क्षेत्र नम्बर १ मा २६ जना, क्षेत्र नम्बर २ मा २८ जना, क्षेत्र नम्बर ३ मा २२ जना तथा क्षेत्र नम्बर ४ मा ३४ जनाले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
क्षेत्र नम्बर १ बाट श्रम संस्कृति पार्टीबाट हर्कराज राई (हर्क साम्पाङ), नेपाली कांग्रेसबाट सुजेन्द्र तामाङ, नेकपा (एमाले)बाट टीका माङ्लेन, नेपाली कम्युनिष्ट पार्टीबाट सूर्यबहादुर भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट गोमा तामाङ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट उद्धव श्रेष्ठलगायतले उम्मेदवारी दर्ता गरेका छन् । यस क्षेत्रमा २६ जनाको उम्मेदवारी दर्ता भएको छ ।
क्षेत्र नम्बर २ मा २८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सहायक निर्वाचन अधिकृत अरुण मेहताका अनुसार यस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसबाट राजीव कोइराला, नेकपा (एमाले)बाट सुजन लामा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट लालविक्रम थापा, नेपाली कम्युनिष्ट पार्टीबाट रामकुमारी चौधरी र इकवाल अहमदले स्वतन्त्रतर्फ उम्मेदवारी दर्ता गरेका छन् ।
सुनसरी क्षेत्र नम्बर ३ बाट २२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसबाट विजयकुमार गच्छदार, नेकपा (एमाले)बाट भगवती चौधरी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट अशोककुमार चौधरीलगायतले उम्मेदवारी दर्ता गरेका छन् ।
क्षेत्र नम्बर ४ मा विभिन्न राजनीतिक दलबाट ३४ जनाले उम्मेदवारी दर्ता गरेका छन् । यस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (एमाले)बाट जगदीश कुशियत, नेपाली कम्युनिष्ट पार्टीबाट मोहमद महफुज अन्सारी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट दिपककुमार साह र जनता समाजवादी पार्टी नेपालबाट सविता यादवले उम्मेदवारी दर्ता गरेका छन् भन्ने जानकारी मुख्य निर्वाचन अधिकृत प्रकाश राउतले दिएका छन् ।
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता कायम भएका छन् । जिल्लामा दुई लाख ९४ हजार २५२ पुरुष, दुई लाख ८६ हजार ६९१ महिला र दुई जना तेस्रोलिङ्गी मतदाता रहेका छन् ।





























प्रतिक्रिया